भारतबाट नेपाल पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

हिमाल प्रेस ३० मंसिर २०८० १६:३८ | Saturday, December 16, 2023
भारतबाट नेपाल पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

झापा- डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जंगली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन्। झापा, मोरङ र सुनसरी क्षेत्रका जंगलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ।

एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ। मेचीनगर नगरपालिका-४ का हात्ती संरक्षण अभियानकर्मी शंकर लुइटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए।

हात्तीको बथानमा छावा पनि छन्। ती हात्ती हालसम्म नफर्किएको उनले बताए। हिउँद याममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन्। लुइटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए।

उनका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन्। मोरङको कानेपोखरी जंगल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरू भारततिर नफर्किएको अनुमान गरिएको छ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले बिहानबेलुका हिँड्डुल गर्दा र जंगल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन्। वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन। रासस

प्रकाशित: ३० मंसिर २०८० १६:३८ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast