संगठन विस्तार अभियानको समीक्षा गर्न जसपाको कार्यकारिणी समितिको बैठक आज

हिमाल प्रेस २५ मंसिर २०८० ७:३१ | Monday, December 11, 2023
संगठन विस्तार अभियानको समीक्षा गर्न जसपाको कार्यकारिणी समितिको बैठक आज

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न आज बैठक बोलाएको छ।

उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ। जसअन्तर्गत मधेश प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन्।

पहिचानका राष्ट्रिय समितिहरू मध्येका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेश राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन्।

बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन्। जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन्।

यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन्। जसमध्ये ८० वटा पालिका समिति मधेश प्रदेशअन्तर्गतका रहेका छन्। मधेश प्रदेश समितिले पालिका समितिपश्चात जिल्ला समिति र जिल्ला समिति पुनर्गठन गरेपश्चात प्रदेश समिति पुनर्गठन गर्ने गरी कार्य गरिरहेको छ।

३ महिने अभियानको दौरान जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्‍यो। उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुनेछ।

बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्नेछ।

प्रकाशित: २५ मंसिर २०८० ७:३१ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast