एम्नेस्टीको साधारणसभा : ‘मानवअधिकार आन्दोलनमा नयाँ रक्तसञ्चारको अनुभूति’

हिमाल प्रेस १७ मंसिर २०८० १५:३०
36
SHARES
एम्नेस्टीको साधारणसभा : ‘मानवअधिकार आन्दोलनमा नयाँ रक्तसञ्चारको अनुभूति’

काठमाडौँ- एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले ३२ औँ वार्षिक साधारणसभा दाङको घोराहीमा सम्पन्न गरेको छ। साधारणसभाले एम्नेस्टी नेपालको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना र बजेटमाथि छलफल गरी पारित गरेको छ। साथै संस्थाको सदस्यता र गभर्नेन्सको संरचना र प्रक्रियालाई पुनर्परिभाषित तथा परिमार्जन गर्ने उद्देश्यले एम्नेस्टी नेपालको नेसनल बोर्डद्वारा प्रस्तावित संस्थाको विधान र नियमावली संशोधनको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको एम्नेस्टीले जनाएको छ।

पारित विधान र नियमावलीले नेपालमा एम्नेस्टी इन्टरनेसनलको अभियानलाई थप सबल, समावेशी, विविधतायुक्त, सहभागितामूलक र लोकतान्त्रिक बनाउने विश्वास लिइएको एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले बताए। उनले भने, ‘साधारणसभाले नेसनल बोर्डद्वारा प्रस्ताव गरेको एम्नेस्टी नेपालको विधान र नियमावली संशोधनसम्बन्धी प्रस्तावउपर बृहत् छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको छ। यो संस्थाको परिवर्तन र नया दिशाको लागि एउटा निकै नै महत्त्वपूर्ण कदम हो। यसले एम्नेस्टी नेपालमा आबद्ध रहेर मानवअधिकार आन्दोलनमा सक्रिय हुन चाहने सदस्य र समर्थकहरूमा नयाँ रक्त सञ्चारको अनुभूति गराएको छ।’

बदलिँदो आवश्यकता र चुनौतीहरूसँग अनुकूलित हुँदै विश्वमा देखिएका नवीनतम् र जटिल समकालीन मानवअधिकारका विषयवस्तुमा काम गर्नका लागि एम्नेस्टी नेपालको सिंगो अभियान अझ बृहत् र परिस्कृत हुने दिशामा पारित गरिएको विधानको नयाँ प्रावधानले मार्गनिर्देश गर्ने थपलियाले बताए।

साधारणसभामा एम्नेस्टी नेपाल शाखाका समूह र युथनेटवर्कहका प्रतिनिधिका साथै एम्नेस्टी नेपालको नेसनल बोर्ड र अपिल कमिटीका सदस्यहरू, पूर्वअध्यक्षहरू, कर्मचारी, स्वयंसेवक र पर्यवेक्षकसमेत गरी करिब तीन सय जनाले सहभागिता जनाएका थिए ।

साधारणसभाको दोस्रो इजरायल र हमासबीच भइरहेको युद्धका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाइरहनुपरेको सन्दर्भमाथि गम्भीर चासोका साथ तत्काल पूर्ण युद्धविरामको आह्वान गर्दै एम्नेस्टी नेपाल सदस्यहरूले ‘ह्युमन राइट्स याक्सन’ गरेका थिए।

प्रकाशित: १७ मंसिर २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast