 
                             
                                            काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य तथा खेलकुद पत्रकार सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक ‘सपना, विश्वास र अठोट’ बिहीबार लोकार्पण गरिएको छ। पुस्तक राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष तथा खेलाडी विष्णुगोपाल श्रेष्ठ, पहिलो मिस नेपाल रुबी राणा, पुस्तकका सम्पादक तथा पत्रकार जनक नेपाल, उद्योगपति एवं साहित्यकार बसन्त चौधरी, क्रियटिभ बुक्सका प्रकाशक टीएस ठकुरी र लेखक स्वयंले लोकार्पण गरेका हुन्।
पहिलो पुस्ताका खेल पत्रकारसमेत रहेका क्षेत्री नेपाली खेलकुद, जेसिज अभियान र मिस नेपालमार्फत युवालाई उत्प्रेरणा दिने व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले पुस्तकमा जीवन संघर्षको यात्रालाई समेटेका छन्।
पुस्तकमा उनले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले पदक जित्न गरेको योजनाबद्ध तयारीलाई उतारेका छन्। सुवर्णकै नेतृत्वमा सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १० औँ एसियाड खेलकुद प्रतियोगितामा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा पदक जितेको थियो। उनकै नेतृत्वमा सिओल एसियन खेलकुदमा नेपालले पहिलोपल्ट पदक जितेको थियो। तत्कालीन राजा वीरेन्द्र र अधिराजकुमार धीरेन्द्रसँगका रोचक संस्मरण पढ्दा नेपाली खेलकुदमा राजदरबारको चासो बुझ्न सकिन्छ।
उनको अर्को परिचय नेपालमा सुन्दरी प्रतियोगिता थालनीकर्ताका रूपमा रहेको छ। त्यसैले क्षेत्रीलाई धेरैले गड फादर अफ मिस नेपाल भन्छन्। सुन्दरी प्रतियोगिताको तीन दशक लामो अनुभव र उतारचढावलाई पनि उनले पुस्तकमा समेटेका छन्। सुवर्ण नेपाली सुन्दरी प्रतियोगिता (मिस नेपाल) को आयोजक संस्था हिडेन ट्रिजरका निर्देशक थिए। द इन्डिपेन्डेन्टका तत्कालीन सम्पादक रहेका क्षेत्रीले राइजिङ नेपालबाट पत्रकारिताको सुरुवात गरेका थिए। क्षेत्रीले होटल अन्नपूर्णमा साढे तीन वर्ष काम गरेका थिए। यस्तै जेसिजमा पनि उनको नेतृत्वदायी भूमिका थियो।
क्षेत्रीले जीवनकालमा गरेको संघर्षलाई जोकोहीले पनि बिर्सन नहुने भन्दै आफ्नो यात्रालाई पुस्तकमा उतारेको बताए। अन्नपूर्णमा हुँदा खेलकुदमा रुचि रहेको सन्दर्भ पनि सुनाएका थिए। नयाँ काम गर्ने हुटहुटीले सन् १९९४ मा नेपालमा पहिलोपटक मिस नेपाल प्रतियोगिता सम्पन्न गरेको उनको भनाइ थियो। ‘मैले देखेको सपना, गरेको विश्वास र अठोटपछि पाएको सफलता पुस्तकमा समेटेको छु’, उनले भने। आफ्ना विगत सम्झँदै उनले युवापुस्तालाई सपना देख्न आग्रह गरे। उनले भने, ‘सपना सबैभन्दा ठूलो हो। सपना देखेपछि निरन्तर त्यसलाई पूरा गर्न लाग्नुहोस्।’
पुस्तकका सम्पादक तथा पत्रकार जनक नेपालले सुवर्ण क्षेत्रीलाई नजिकबाट बुझ्न पुस्तक उपयोगी रहेको बताए। उनले भने, ‘पुस्तकमा उहाँले पञ्चायतकालीन, बहुदलीय शासन प्रणाली र गणतन्त्रको समयमा भएको खेलकुद यात्रा, मिस नेपालमा आएका उत्तारचढाव, कूटनीतिका कुरालगायत थुप्रै विषयलाई समेट्नुभएको छ।’ पुस्तकमा तत्कालीन समयको समाजको महत्त्वपूर्ण पाटो समेटिएको उनले बताए। ‘पुस्तक व्यक्तिगतभन्दा पनि समाजलाई प्रेरणादायी छ’, उनले भने।
पहिलो मिस नेपाल रुबी राणाले पनि आफ्नो संघर्षको यात्रामा सहयोग गर्ने र सधैँ हौसला दिने लेखक क्षेत्री अभिभावक, संरक्षक र पितासरह रहेको बताइन्। आफू मिस नेपाल बन्ने सपना उनकै कारण सफल भएको सुनाइन्। उनले मिस नेपालमार्फत सुन्दरीको सपना पूरा गर्न क्षेत्रीको अमूल्य योगदान रहेको बताइन्।
कार्यक्रममा अन्य वक्ताहरुले सुवर्ण क्षेत्रीसँगको सम्बन्धबारे चर्चा गरेका थिए। उनीहरूले सुवर्ण सकारात्मक सोच भएका प्रतिभाशाली र बहुआयामिक व्यक्तित्व रहेको बताए। पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गरेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 