नारायणगढका सडकसीमाका संरचनामा विभागले डोजर चलाउने

हिमाल प्रेस ६ पुष २०७९ १५:४० | Wednesday, December 21, 2022
नारायणगढका सडकसीमाका संरचनामा विभागले डोजर चलाउने फाइल तस्बिर। हिमाल प्रेस

नारायणगढ– चितवनको गोन्द्राङमा ६ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घर टहरामा डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउने भएको छ। कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिए।

पुल्चोकबाट भरतपुर बसपार्कभित्र रहेका १ सय बढी घरका टप तथा कौसी आगामी साताबाट भत्काउन सुरु गरिने उनको भनाइ छ। यसका लागि हेबी इक्युप्मेन्ट डिभिजन कार्यालय हेटौँडाबाट एक्साभेटर मगाइने उनले जानकारी दिए।

‘आज हामी प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गरी आउँदो साताबाट घरटहरा भत्काउन सुरु गर्छौं,’ उनले भने। सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए।

यसअघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेपछि ती संरचना भत्काउन कार्यालय बाध्य भएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताए।

‘उहाँहरूले कहिलेबाट काम थाल्नुहुन्छ, आवश्यक सुरक्षा हामी दिन्छौं,’ उनले भने। यता घरधनीहरूले भने तत्कालीन भरतपुर नगरपालिकाबाट नक्सा स्वीकृत गराएरै घर बनाएकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपाय खोजी गर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: ६ पुष २०७९ १५:४० | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast