लुम्बिनीमा ‍‘शान्ति घण्टी’को उद्घाटन

हिमाल प्रेस १२ मंसिर २०८० १४:१० | Tuesday, November 28, 2023
लुम्बिनीमा ‍‘शान्ति घण्टी’को उद्घाटन

लुम्बिनी- विश्व शान्तिको लागि निर्माण गरिएको ‘शान्ति घण्टी’ को मंगलबार उद्घाटन गरिएको छ।

कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घण्टी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले घण्टी बजाएर उद्घाटन गरेका हुन्।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूका सदस्यहरू, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घण्टी बजाउँदै उद्घाटन समरोह गरिएको हो।

बुद्धदर्शनमा घण्टीलाई शान्ति, करुणा, जागरुकता र सचेतनाको प्रतिकका रूपमा मान्ने गरिन्छ। उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले बुद्धभूमिबाट घण्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए।

भिक्षुले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घण्टीले कोरिया र नेपालीबीचको निस्वार्थ सम्बन्धलमई थप प्रगाढ बनाएको समेत मन्त्री किराँतीले बताए। उनले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे।

‘नेपाल कोरियाबीच इतिहासजस्तै पूरानो, समुन्द्र जस्तो शान्त र हिमालजस्तै अग्लो सम्बन्ध छ’ लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले भने,‘कोरियाले नेपालीहरुलाई रोजगारी दिएर र नेपालीहरुले पसिना दिएर सहयोग गरेका छौँ, अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ।’

उनले संसारभरका बुद्धमार्गीलाई लुम्बिनी जाऔँ भन्ने अभियान कोरियामा चलाउन घण्टी उद्घाटन समारोहमा सहभागी हुन आएका बौद्ध गुरु, भिक्षु, उपासकसँग अनुरोध गरे।

‘नेपाली पाहुनालाई भगवान मान्छौँ, अब तपाईहरूले बुद्धभूमि लुम्बिनी जाऔँ भन्ने अभियान चलाउनुहोला, परिवार सहित लुम्बिनीमा आउनुहोस्’ मन्त्रीले भने।

उनले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसुतीगृह निर्माण गर्नुपर्ने बताए। बुद्धजस्तै सन्तान जन्माउनका लागि मायादेवी प्रसुती अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै विश्वका बौद्धधर्मालम्बीहरुलाई सहयोग गर्न मन्त्री किरातीले आग्रह गरे।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)का तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घण्टीको अनावरण र उद्घाटनको अवस्थसम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरुलाई धन्यवाद दिए।

उनले शान्ति घन्टीको अर्थ बुद्धको शान्ति र दयाको शिक्षाबाट विश्वमा द्वन्द्वको समाधान र शान्ति स्थापनाको सन्देशका रूपमा बुझ्नुपर्ने बताए।

कार्यक्रममा शान्ति घण्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे।
‘यो घण्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाहरुले प्राणीहरुको पिडालाई राहात दिने प्रतिक हो’ धर्मगुरु हेजाले भने, ‘बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरुलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीहरुको पिडालाई आनन्दको आवाज दिनेछ।’

घण्टी उद्घाटन समरोहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रो डा सुर्वलाल बज्रचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदकले बोल्दै बुद्धजन्मस्थलमा शान्ति घन्टी स्थापनाले धार्मिक वातावरण बनाउने बताए।

यसअघि धर्मगुरु सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपाल मैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो। घण्टी उद्घाटन अघि सोमबार बेलुका मायादेवी मन्दिर, घण्टी निर्माण स्थलमा कोरियाली धर्म गुरु, भिक्षु, उपासकले पूजा गरेका थिए।

प्रकाशित: १२ मंसिर २०८० १४:१० | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast