अस्थायी आवास बनाउन कांग्रेस टोली परिचालन

हिमाल प्रेस ५ मंसिर २०८० १५:५४
4
SHARES
अस्थायी आवास बनाउन कांग्रेस टोली परिचालन जाजरकोटमा आवास निर्माणमा खटिँदै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललगायत।

काठमाडौँ– नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न टोली परिचालन गर्ने भएको छ। महामन्त्री गगनकुमार थापाको सभापतित्वमा मंगलबार बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रूकुम (पश्चिम) का भूकम्पपीडित परिवारलाई अस्थायी घरटहरा निर्माण गर्न श्रमदान गर्न टोली परिचालन गर्ने निर्णयय गरेको हो।

श्रमदान गर्न यथाशीघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय बैठकले गरेको छ। ‘उक्त समूहले एक हप्ता काम गरिसकेपछि क्रमिक रूपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिनेछ।’

श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सक परिचालन गर्ने निर्णय कांग्रेसले गरेको छ। यसैगरी प्रभावित क्षेत्रमा पठनपाठन गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउने जिम्मेवारी नेपाल शिक्षक संघले पाएको छ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा चार वटा अस्थायी विद्यालय भवन बनाइरहेको छ। अब संघले चाँडै नै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउन लागेको छ।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुर्स्थापनासम्वन्धी अध्ययन गरी आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेछ।

भूकम्प प्रभावित क्षेत्रका अस्थायी घरटहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्रबारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =