दसैँका लागि ल्याएका भेडाच्यांग्रा तिहारमा पनि बेचिएनन्

हिमाल प्रेस २७ कार्तिक २०८० १९:२५ | Monday, November 13, 2023
दसैँका लागि ल्याएका भेडाच्यांग्रा तिहारमा पनि बेचिएनन् फाइल तस्बिर

ढोरपाटन (बागलुङ)- कास्कीको माछापुछ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्यांग्रा लिएर आए। बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्यांग्राको व्यापार गरे।

बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्यांग्रा पुर्‍याए। तर सबै बिक्री हुन सकेनन्। तीन सय ५४ मात्रै बिक्री भए। दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्यांग्रा आफ्नो गाउँ लिएर फर्किए। केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्यांग्रा लिएर आएका छन्।

दसैँका लागि ल्याएका च्यांग्रा तिहारसम्म पनि नबिक्दा उनी साह्रै तनावमा देखिन्छन्। दसैँको भन्दा अहिले च्यांग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ।

पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैँमा सबै बिक्री भएका गुरुङ बताउँछन्। ‘यसपाली सोचेअनुसार व्यापार भएन,’ उनले भने, ‘वर्षौँदखि भेडाच्यांग्रा खरिद बिक्री गर्दै आएका गुरुङलाई यसपाली आर्थिक मन्दिका कारण ठूलो समस्या भएको छ।

तिहारको दिनसम्म सबै च्यांग्रा सक्ने योजनामा उनी छन्। कम मूल्यमा दिन थालेपछि दसैँका तुलनामा यस बेला बढी बिक्री भएका छन्। अझै पनि उनीसँग करिब डेढ सय च्यांग्रा साथमै छन्।

गुरुङलाई तिहारसम्म सबै भेडाच्यांग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ। करिब दुई महिना च्यांग्रा व्यापार गर्ने उनी १८ वर्षदेखि यही पेसामा लागेका हुन्। च्यांग्राको यसवर्ष न्यूनतम ३० हजारदेखि ५८ हजार रुपैयाँसम्म मूल्य छ। रासस

प्रकाशित: २७ कार्तिक २०८० १९:२५ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast