जनकपुरधाम-अयोध्या रेल शनिबारदेखि सञ्चालन, कति छ भाडा?

हिमाल प्रेस १० मंसिर २०८३ १५:३० | Thursday, November 26, 2026
14
SHARES
जनकपुरधाम-अयोध्या रेल शनिबारदेखि सञ्चालन, कति छ भाडा? भारतको अयोध्याधामबाट नेपालको जनकपुरधामसम्म साप्ताहिक यात्रुवाहक रेल सेवाको शुभारम्भका क्रममा मंगलबार जनकपुर रेल्वे स्टेसनमा आइपुगेको ‘सरयु कमला एक्सप्रेस’ को रेल। तस्बिर : रासस

काठमाडौँ-  जनकपुरधाम र भारतको अयोध्याबीच शनिबारदेखि व्यावसायिक रूपमा रेल सञ्चालन हुने भएको छ। जनकपुरधाम र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको ‘सरयू–कमला’ एक्सप्रेस शनिबारदेखि सञ्चालन हुने भएको हो।

गत साता भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सयुक्त रूपले जनकपुरधाम-अयोध्या रेलको उद्घाटन गरेका थिए।

नेपाल रेलवे कम्पनीले रेल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाल रेलवेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बिहीबारदेखि जनकपुरधामको रेलवे स्टेसनबाट टिकट बिक्री सुरु गरिएको जानकारी दिए। उनका अनुसार भारततर्फ पनि टिकट बिक्री सुरु गरिसकिएको छ।

त्यस्तै अनलाइनमार्फत पनि टिकट बुकिङ खुला गरिएको छ। अनलाइनमार्फत टिकट बुकिङ गर्न चाहनेले भारतीय रेलवेको टिकट बुकिङसम्बन्धी वेबसाइट आईआरसीटीसी प्रयोग गर्न सक्नेछन्।

निर्धारित तालिकाअनुसार रेल प्रत्येक शनिबार अपराह्न १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ। त्यस्तै सोमबार भारतीय समयअनुसार साँझ ५ः५० बजे जनकपुरधामका लागि छुट्नेछ। साप्ताहिक रूपमा सञ्चालन हुने यो रेलमा नेपाल र भारतका यात्रुले मात्र यात्रा गर्न सक्नेछन्।

भारतीय रेलवे ‘सरयू-कमला’ एक्सप्रेसका लागि चार श्रेणीमा भाडादर निर्धारण गरेको छ। स्लिपर श्रेणीको भाडा ३६५ भारतीय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै ‘एसी थ्री टियर इकोनोमी’ को ८८५ रुपैयाँ, ‘एसी थ्री टियर’ को ९६५ र ‘एसी टु टियर’ को भाडा १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ।

यो रेलमा यात्रा गर्ने नेपाली तथा भारतीय यात्रुसँग परिचय खुल्ने वैध परिचयपत्र हुनुपर्छ। साथै टिकटमा उल्लेखित परिचयपत्रको विवरण जयनगरमा देखाइने परिचयपत्रसँग मेल खानुपर्ने हुन्छ।

रेलमा यात्रा गर्ने नेपाली नागरिकका लागि नागरिकताको प्रमाणपत्र वा राहदानी मान्य हुनेछन्। त्यस्तै भारतीय नागरिकले राहदानी वा मतदाता परिचयपत्र साथमा राख्नुपर्ने हुन्छ। १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि मात्र आधारकार्ड मान्य हुने बताइएको छ।

‘सरयू-कमला’ एक्सप्रेस आधुनिक ‘एलएचबी’ श्रेणीका १७ डिब्बा भएको रेलका रूपमा सञ्चालन हुनेछ। यसमा दुईवटा ‘एसी टु(टायर’ का डिब्बा हुनेछ।

त्यस्तै तीनवटा ‘एसी थ्री टायर’ र तीनवटा ‘एसी थ्री टायर इकोनोमी’ का डिब्बा हुनेछ। सातपटा स्लिपर क्लास, एउटा लगेज डिब्बा र एक पावर कार हुनेछ।

यो रेलमा साधारण (जनलर) डिब्बा र फस्ट एसी छैन। प्रत्येक यात्रुका लागि आरक्षित वर्थ (सिट) अनिवार्य छ। भारतीय रेलवेको एसी श्रेणीहरुमा ओढ्ने-ओछ्याउने सामग्री उपलब्ध गराइन्छ। स्लिपरमा भने यो सेवा उपलब्ध हुँदैन।

प्रकाशित: १० मंसिर २०८३ १५:३० | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast