बुटवल- लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र निषेध गरिएका स्थानहरूमा कोषको स्वीकृति बिना राखिएका पसलहरू हटाउन सूचना जारी गरेको छ। कोषका वरिष्ठ प्रशासकीय अधिकृत चूडामणि भट्टराईले शुक्रबार एक सूचना जरी गरी २४ घण्टाभित्र पसल हटाउन अल्टिमेटमसहितको सूचना जारी गरेको हो।
कोषका अनुसार भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, विश्व सम्पदा केन्द्र लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत पवित्र उद्यान क्षेत्र, शान्तिदीप, अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत कोषद्वारा निषेध गरिएका स्थानहरूमा बिना स्वीकृति पसल राखिएको छ। ‘२४ घनटाभित्र हटाउन अन्यथा प्रचलित कानुन अनुसार हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।
लुम्बिनी विश्व सम्पदा सूचीमा रहेको संवेदनशील क्षेत्र भएकाले गुरुयोजना क्षेत्रभित्र अव्यवस्थित पसल, संरचना र व्यापारिक गतिविधिले पवित्रता, शान्ति र अन्तर्राष्ट्रिय छविमा असर पर्ने भन्दै कोषले यसअघि पनि पटकपटक निषेधित क्षेत्रमा गतिविधि नगर्न आग्रह गर्दै आएको थियो।
कोषको उपाध्यक्षसहित पदाधिकारीमा नयाँ नेतृत्व आएपछि गुरुयोजना कार्यान्वयन र पवित्र उद्यान क्षेत्रको व्यवस्थापनलाई कडाइका साथ अघि बढाउन खोजेको छ।



