भोटेकोशी बाढीमा बेपत्ता भए काभ्रेका ३५ जना

हिमाल प्रेस १९ कार्तिक २०८३ १०:२९ | Thursday, November 5, 2026
भोटेकोशी बाढीमा बेपत्ता भए काभ्रेका ३५ जना

काभ्रेपलाञ्चोक- गत भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण स्वीकृत गरिएको छ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लाका स्थानीय तहबाट सिफारिस भई आएका विवरणलाई विपद्सम्बन्धी कानुनी व्यवस्थाअनुसार अन्तिम रूप दिएको हो।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार स्वीकृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ।

भोटेकोशी बाढीमा परी मृत्यु तथा बेपत्ता भएका जिल्लाका नागरिकका परिवारलाई सम्बन्धित स्थानीय तहले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ बमोजिम यथाशीघ्र राहत उपलब्ध गराउने र त्यसको सोधभर्ना जिल्ला प्रशासन कार्यालयसँग माग गर्ने निर्णयसमेत भएको अधिकारीले जानकारी दिए।

भोटेकोशी बाढीबाहेक अन्य विपद्जन्य घटनामा परी बेपत्ता भएका तर मृत्युदर्ता हुन बाँकी रहेका व्यक्तिका हकमा वडा कार्यालयमार्फत निवेदन सङ्कलन गरी कार्यपालिकाको निर्णयसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

जिल्लाका १३ वटै स्थानीय तहले ‘रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार वडा कार्यालयमार्फत विवरण संकलन गरी समितिमा पठाएका थिए। जिल्ला प्रशासन कार्यालयले आधिकारिक विवरण यकिन गर्न स्थानीय तहलाई कात्तिक १८ गतेसम्मको समयसीमा तोकेको थियो।

नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाइएको हो। यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुलेको छ।

विभिन्न काम तथा भ्रमणका सिलसिलामा भोटेकोशी क्षेत्रमा पुगेका जिल्लाका नागरिकको कानुनी अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

काभ्रेपलाञ्चोक प्रशासनको असोज २७ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिको विवरण यकिन गर्ने निर्णय गरेको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा परी चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए।

प्रकाशित: १९ कार्तिक २०८३ १०:२९ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast