प्रतिनिधिमूलक तस्बिर।
मकवानपुर- मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन्। थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले गएराती १:४५ बजेको समयमा सवारी साधन जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा।प्र। ०१ ०३५ च ४५६१ नम्बरको सेतो रङको एसयुभी जिपलाई रोकी जाँच गरिएको थियो। जाँचका क्रममा गाडीको पछाडिको डिकीमा रहेको कालो रङको लगेज ब्यागभित्र लत्ताकपडामा लुकाइछिपाइ सेतो प्लास्टिकले बेरेर ल्याइएको ५ पोका चरेस फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका ३ सञ्जिवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने गाडी चालक ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।
बरामद गरिएको लागुऔषध, सवारी साधन र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



