अमेरिकी चुनावको परिणामले के होला चीनसँगको सम्बन्ध?

हिमाल प्रेस १९ कार्तिक २०८३ ११:४८ | Thursday, November 5, 2026
अमेरिकी चुनावको परिणामले के होला चीनसँगको सम्बन्ध? क्रस इन्स्योरेन्स सेन्टरस्थित मतदान केन्द्रमा मतदाताहरूले आफ्नो मत खसाल्दै। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बाँकी अवधिका लागि प्रतिनिधिसभा र सिनेटको नियन्त्रण कसले गर्ने भन्ने टुंगो लाग्ने महत्त्वपूर्ण मध्यावधि निर्वाचनमा अमेरिकी नागरिकहरू मतदान गर्दै। तस्बिर:रासस/एएफपी

बेइजिङ- अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन्।

कंग्रेसका दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण कायम भए राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन नीतिमा अंकुश लाग्न सक्ने भए पनि द्विपक्षीय सम्बन्धमा तत्काल सुधार हुने सम्भावना कम रहेको उनीहरूको विश्लेषण छ।

डेमोक्रेटहरूको नियन्त्रणले चीनमाथि लगाइएको अमेरिकी भन्सार शुल्क सीमित हुन सक्नेछ। यसले व्यापार वार्तामा शुल्कलाई दबाबको अस्त्र बनाउने ट्रम्पको क्षमता कमजोर पार्न सक्ने फुदान विश्वविद्यालयका प्राध्यापक वु सिन्बोको भनाइ छ। अमेरिकी श्रमिक र साना व्यवसायमाझ शुल्क लोकप्रिय रहेकाले त्यसलाई हटाउन डेमोक्रेटहरूलाई पनि कठिन हुने विश्लेषकहरूको भनाइ छ।

ताइवानको विषयले भने दुई देशबीचको तनाव बढाउन सक्ने देखिएको छ। ट्रम्प प्रशासनले चीनसँगको वार्तामा मोलमोलाइका लागि ताइवानलाई १४ अर्ब डलर बराबरका हतियार बिक्री प्रक्रिया रोकेको छ।

डेमोक्रेटहरूको दबाबमा उक्त बिक्री पुनः सुरु भए चीनसँगको सम्बन्ध थप तनावपूर्ण हुन सक्ने विश्लेषकहरूको आकलन छ।

निर्वाचनपछि ट्रम्प राजनीतिक रूपमा कमजोर बने पनि चीनले उनीसँगको उच्चस्तरीय संवाद जारी राख्ने सम्भावना रहेको ब्रुकिङ्स इन्स्टिच्युसनकी प्याट्रिसिया किमले बताइन्।

चीनले ट्रम्पको कमजोर अवस्थालाई दबाब बढाउन उपयोग गर्न सक्ने भए पनि उनलाई गैरजिम्मेवार कदम चाल्न बाध्य पार्ने गरी अघि नबढ्ने एसओएएस चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ साङको भनाइ छ।

विश्लेषकहरूका अनुसार निर्वाचनले अमेरिका–चीन शक्ति सन्तुलनमा परिवर्तन ल्याए पनि दुई देशबीचको प्रतिस्पर्धा र अविश्वास तत्काल अन्त्य हुने सम्भावना छैन। रासस/एएफपी

प्रकाशित: १९ कार्तिक २०८३ ११:४८ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast