इजरायली निर्वाचनले बढायो सत्ता समीकरणको अन्योल

हिमाल प्रेस ११ कार्तिक २०८३ १०:५९ | Wednesday, October 28, 2026
12
SHARES
इजरायली निर्वाचनले बढायो सत्ता समीकरणको अन्योल प्रधानमन्त्री बेन्जामिन नेतान्याहु

जेरुसेलम- इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धन कमजोर देखिएको छ। एक्जिट पोलले विपक्षी समूहलाई तुलनात्मक रूपमा बलियो देखाए पनि कुनै पनि पक्षले संसद्‌मा स्पष्ट बहुमत हासिल गर्ने संकेत नदेखिएकाले नयाँ सरकार गठनमा अन्योल बढेको छ।

नेतान्याहुको लिकुड पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको देखिए पनि उनको धार्मिक तथा राष्ट्रवादी गठबन्धनले संसद्का १२० सिटमध्ये ५० देखि ५१ सिट जित्ने अनुमान गरिएको छ।

पूर्वसेना प्रमुख गदी आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५१ देखि ५२ सिट प्राप्त गर्न सक्ने एक्जिट पोलको आकलन छ।

सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्ने भएकाले अरब नेतृत्वका दलहरूको समर्थन निर्णायक बन्न सक्ने देखिएको छ। ती दलले १९ सिट प्राप्त गर्ने अनुमान छ।

निर्वाचन समितिका अनुसार लिकुडले २३.३६ प्रतिशत मत प्राप्त गर्दा आइसेनकोटको याशर पार्टीले १५.७४ प्रतिशत मत पाएको छ।

अन्तिम आधिकारिक परिणाम यसै साताको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। नेतान्याहुले अरब दलहरूको समर्थनमा सरकार गठन नगर्ने अडान दोहोर्‍याए भने आइसेनकोटले निश्चित सर्तमा सहकार्य गर्न सकिने संकेत दिए।

सहमति जुट्न नसके सरकार गठनका लागि लामो राजनीतिक वार्ता गर्नुपर्ने वा पुनः निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ।

निर्वाचन अभियानमा प्यालेस्टिनी राज्यको स्थापनासम्बन्धी विषयले भने कम प्राथमिकता पाएको थियो। प्रमुख उम्मेदवारहरूले अवरुद्ध शान्ति प्रक्रिया अघि बढाउने ठोस प्रस्ताव प्रस्तुत गरेका थिएनन्।

सन् २०२१ मा इजरायली सरकारको गठबन्धनमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल रामका नेता मन्सुर अब्बासले पनि अरब समुदायमा बढ्दो अपराध र सुरक्षा समस्यालाई प्रमुख चुनावी मुद्दा बनाएका थिए।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु हुनु र २५१ जना बन्धक बनाइनुले पनि निर्वाचनलाई प्रभावित गरेको छ।

नेतान्याहुका आलोचकहरूले उक्त सुरक्षा विफलताको जिम्मेवारी लिनुपर्ने र घटनाबारे स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै आएका छन्। तर उनीका समर्थकहरूले गाजा, लेबनान र इरानसँगका युद्धमा हासिल उपलब्धिलाई सरकारको पक्षमा प्रस्तुत गरेका छन्।

अति परम्परावादी यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट दिइँदै आएको छुट पनि निर्वाचनको प्रमुख मुद्दा बनेको छ। तीन वर्षदेखि जारी युद्धका कारण सैनिक सेवाको भार असमान रूपमा वितरण भएको भन्दै उक्त छुटप्रति असन्तुष्टि बढेको छ।

गाजाको युद्धमा छोरा र दुई भतिजा गुमाएका आइसेनकोटले सैनिक सेवासम्बन्धी छुट अन्त्य गर्ने प्रतिबद्धता जनाए। एक्जिट पोलले अति परम्परावादी यहुदी दलहरूको समर्थन घटेको देखाएको छ।

इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक ७७.७ प्रतिशत योग्य मतदाताले मतदान गरेका छन्। यो सन् १९९९ यताकै उच्च मतदान सहभागिता हो।

सन् २०२२ को निर्वाचनको तुलनामा यसपटकको सहभागिता सात प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। रासस/एपी 

प्रकाशित: ११ कार्तिक २०८३ १०:५९ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast