फ्रान्सको राजनीतिक संकट र दक्षिणपन्थी उभार

हिमाल प्रेस ७ कार्तिक २०८३ १७:३१ | Saturday, October 24, 2026
4
SHARES
फ्रान्सको राजनीतिक संकट र दक्षिणपन्थी उभार फ्रान्सको पेरिसमा बढ्दो महँगीविरुद्ध भएको प्रदर्शनको भोलिपल्ट गत आइतबार प्लास दे ला रिपब्लिकमा जलेको कार हेर्दै सर्वसाधारण। तस्बिर : एपी/रासस

म पेरिसको प्लास द ला रिपुब्लिकनजिकै बस्छु। त्यसैले गत शनिबार यहाँको वातावरण निकै चहलपहलपूर्ण थियो। दिउँसो मैले क्रान्तिकारी नाराहरू लेखिएका गत्ताका पाटी बोकेर प्रदर्शन गरिरहेका माध्यमिक विद्यालयका विद्यार्थीहरूका बीच समय बिताएँ। साँझ ६ बजेतिर भने सडकमा अर्कै भीड ओइरियो। हाम्रो घरको आँगनमा प्रहरीको अश्रुग्यासको गन्ध फैलिएको थियो। बाहिर सडकमा तोडफोड गर्नेहरूको भीड थियो। फ्रान्समा यस्ता समूह ऐतिहासिक रूपमै प्रदर्शनका क्रममा देखिँदै आएका छन्।

मैले आफ्नै सडकपारिको सुपरमार्केटका सटर फुटाएर सामान लुटिरहेका किशोरहरूलाई हेरिरहेँ। उनीहरूले मुख्यतः आफूलाई खासै आवश्यक नभएका सामान लुटिरहेका थिए। एक जना केटो भोल्भिक ब्रान्डको खनिज पानीको एउटा बाकस बोकेर खुसी हुँदै बाहिर निस्कियो। अरूले चिप्सका प्याकेट एकअर्कातिर फ्याँकिरहेका थिए। अर्का एकजना भने महँगा मदिराका बोतलहरू अँगालोभरि च्यापेर लर्खराउँदै निस्किए। प्रहरी कतै देखिँदैनथे।

मैले एक्लै भए पनि व्यवस्था कायम गर्न सुपरमार्केट जोगाउन अघि बढ्ने विचार गरेँ। तर पछि त्यो विचार त्यागेँ। मेरा छिमेकीहरू घरभित्र डरले लुकेका थिए र सडकमा म मात्रै अधबैंसे मानिस थिएँ। मैले ट्र्याकसुट वा हुडी लगाएको थिइनँ, त्यसैले अरूलाई शंकास्पद देखिन सक्थेँ। एकजना केटाले व्यङ्ग्य गर्दै प्रहरी बोलाउन सुझाव दियो। म भने माथिल्लो तलामा फर्किएँ र साँझभरि सिसा फुटेका आवाज सुनिरहेँ।

पेरिसमा बिताएको २५ वर्षमा मैले यति ठूलो सार्वजनिक अव्यवस्था र यति उग्र एवं सम्झौताहीन राजनीति कहिल्यै देखेको थिइनँ। सर्वेक्षणहरूले देखाएअनुसार शनिबारको अराजकताबाट लाभ लिएकी दक्षिणपन्थी नेतृ मरिन ले पेन आगामी मे २ मा राष्ट्रपति निर्वाचित हुने सम्भावना छ। युरोपेली संसद्को कोष हिनामिना गरेको अभियोगमा दोषी ठहरिएकी उनले चुनावी अभियानका क्रममा खुट्टामा निगरानी उपकरण लगाएर प्रचार गर्नुपर्ने अवस्था आए पनि उनको राजनीतिक सम्भावना बलियो देखिएको छ।

सन् १९४५ पछि जर्मनी, फ्रान्स वा बेलायतजस्ता युरोपका तीन ठूला देशमध्ये कुनै एउटामा पनि दक्षिणपन्थी शक्तिले पहिलोपटक सत्तारोहण गर्न सक्ने सम्भावना देखिएको छ। ले पेनले आर्थिक संकटसमेत सामना गर्नुपर्ने हुन सक्छ। फ्रान्सको वार्षिक बजेट घाटा वर्षौँदेखि कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतमा अड्किएको छ। ऋणको लागत २४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ र राजनीतिक समाधानको कुनै संकेत देखिएको छैन। फ्रान्स कसरी शासन गर्नै कठिन हुने अवस्थाको सँघारमा पुग्यो र अब कता जाला?

क्रान्ति कि नाटक?

फ्रान्समा क्रान्तिकारी गतिविधिबारे प्रश्न उठ्दा सबैभन्दा पहिले सोधिने प्रश्न हो- यो साँच्चैको क्रान्ति हो कि नाटक? फ्रान्सेलीहरूलाई आफ्नो विगतका विद्रोहप्रति श्रद्धा गर्न र तिनको पुनरावृत्ति गर्न सानैदेखि अभ्यस्त बनाइन्छ।

सन् १८४८ मा यही आसपासका क्षेत्रमा भएका अझ हिंसात्मक घटनाको वर्णन गर्दै एलेक्सिस द तोकभिलले लेखेका थिए, ‘यहाँ फ्रान्सेली क्रान्ति फेरि सुरु हुँदै छ, किनकि यो सधैँ एउटै क्रान्ति हो।’

गत शनिबारका युवा प्रदर्शनकारीहरूले आफ्ना पूर्वजको विरासत सम्झिए। एउटा पाटीमा ‘युवा बन र चुप लाग’ लेखिएको थियो। यो सन् १९६८ को व्यङ्ग्यात्मक नारालाई पुनः प्रयोग गरिएको थियो। उनीहरूले सन् १९२० को दशकको इटालीको नारा ‘सियामो तुत्ती अन्तिफासिस्ती’ अर्थात् ‘हामी सबै फासीवादविरोधी हौँ’ र ‘हामीले लुई सोह्रौँको टाउको काट्यौँ, अब फेरि सुरु गर्छौँ, म्याक्रों’ भन्ने नारा लगाए।

यी सबैका अतिरिक्त उनीहरू रमाइलो पनि गरिरहेका थिए। शनिबारको प्रदर्शन र हिंसाको दृश्य खिच्ने मानिसहरूको खिल्ली उडाउन सजिलो छ। तर फ्रान्सेली क्रान्तिहरू आंशिक रूपमा प्रदर्शनका लागि पनि गरिन्छन्।

फ्रान्सेलीहरू कुरा गर्दा उग्र सुनिन्छन्, तर व्यवहारमा रूढिवादी हुन्छन्। यहाँ ५७ प्रतिशत मानिस घरधनी छन् र धेरैले जीवनभर अवकाशपछिको समयको प्रतीक्षा गरेर बिताउँछन्। उनीहरू राज्यमा निर्भर छन् र राज्यले प्रभावकारी रूपमा काम गरोस् भन्ने चाहन्छन्। क्रान्तिकारी भाषा बोल्नु फ्रान्सेली विरासतप्रतिको सम्मान प्रकट गर्ने एउटा माध्यम पनि हो।

विगतका चुनावमा उग्रपन्थीलाई मत दिएका धेरै मतदाताले पनि भित्रभित्रै उच्च शिक्षा हासिल गरेका प्राविधिक विज्ञ राजनीतिज्ञले जितून् भन्ने चाहेका थिए। त्यसपछि उनीहरू पाँच वर्षसम्म त्यही नेताविरुद्ध प्रदर्शन गर्न सक्थे। सन् १९६८ को ‘क्रान्ति’ अन्ततः उच्च शिक्षण संस्था इकोल नर्माल सुपेरियरका उत्पादन, मध्यदक्षिणपन्थी नेता जर्ज पोम्पिदुको चुनावी विजयमा टुंगिएको थियो।

तर गत शनिबारको घटनाले फ्रान्सेली राजनीतिमा नयाँ ध्रुवीकरण देखायो। इम्यानुएल म्याक्रोंको नेतृत्वमा रहेका प्राविधिक विज्ञहरूको राजनीतिक वर्चस्व अब चुनौतीमा परेको छ। उनीहरूलाई राजनीतिक मञ्चबाटै लखेटिने जोखिम बढेको छ।

सडकमा वामपन्थी, लाभको प्रतीक्षामा दक्षिणपन्थी

फ्रान्सेली शिक्षा प्रणालीका कमजोरीविरुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरू हप्तौँदेखि प्रदर्शन गरिरहेका थिए। शनिबार प्रदर्शनमा सहभागी अधिकांश व्यक्ति अतिवामपन्थी धारका थिए। उनीहरूले ऋणमा डुबेको राज्यलाई अझ बढी खर्च गर्न दबाब दिइरहेका थिए।

एउटा ब्यानरमा लेखिएको थियो, ‘हामीसँग साधन छैनन्- झुटो!’ म्याक्रोंबाहेक उनीहरूको अर्को मुख्य निसाना प्रहरी थियो। उनीहरूले नारा लगाए, ‘सारा संसार प्रहरीलाई घृणा गर्छ!’

अतिवामपन्थी नेता जाँ‍-लुक मेलँसों उनीहरूका मुख्य राजनीतिक संरक्षक हुन्। ट्रेड युनियनहरूले सडक आन्दोलनमाथिको नियन्त्रण गुमाउँदै गएपछि मेलँसोंले त्यसलाई आफ्नो प्रभावमा ल्याउने प्रयास गरिरहेका छन्। आगामी वसन्तमा हुने राष्ट्रपति चुनावको पहिलो चरणका लागि उनको समर्थन करिब १७ प्रतिशत देखिएको छ। उनी दोस्रो चरणमा ले पेनसँग प्रतिस्पर्धा गर्न पुग्न सक्छन्।

प्रदर्शनकारीहरूले ले पेनको नामसमेत मुस्किलले लिए। उनीहरूका व्यवहारले उनी अस्तित्वमै नरहेजस्तो देखिन्थ्यो। राज्यविरुद्ध आक्रमण गर्न प्रदर्शनमा आउने ‘अतिवामपन्थी’ ब्ल्याक ब्लक समूहका थोरै सदस्यहरूले पनि उनलाई बेवास्ता गरे। तीमध्ये कसैले लिमोज सहरको सुन्दर नगरभवन जलाउन सहयोग गरेको हुन सक्छ।

तोडफोडमा संलग्न अधिकांश युवा राजनीतिक रूपमा खासै सचेत छैनन्। उनीहरूमध्ये धेरै आप्रवासी मूलका भए पनि फ्रान्समै जन्मिएका हुन्। उनीहरू पुरुषार्थ प्रदर्शन गर्ने रोमाञ्च खोजिरहेका हुन्छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै साता उल्लेख गरेका ‘इस्लामिक अतिवादी’ यी युवा थिएनन्। तैपनि उनीहरूले ले पेनको राजनीतिक अभियानलाई फाइदा पुर्‍याए। उनीहरूले रमाउँदै गरेको विनाशले ले पेनले सधैँ चेतावनी दिँदै आएको अराजकताको दृश्य प्रस्तुत गर्‍यो।

यसरी फ्रान्सेली राजनीतिक मञ्चको सबैभन्दा ठूलो शक्ति शनिबार दर्शकदीर्घाबाट घटना हेरिरहेको थियो। ऊ आफूलाई व्यवस्था पुनःस्थापित गर्ने दृढ नेतृका रूपमा प्रस्तुत गर्ने तयारीमा थियो। ले पेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले यी दंगालाई आप्रवासनविरुद्ध आक्रमण गर्न प्रयोग गरेका छन्।

आइतबार बिहान स्थानीय पसलेहरूले क्षतिको हिसाब गरे। मेरा छोराले हरेक साता मङ्गा किन्ने र पछि पुराना किताब बेच्ने पसलका सञ्चालकले ‘ले पेरिजियाँ’ पत्रिकालाई भने, ‘अब सकियो। उनीहरूले सबै लगे। मेरो पसल निःशुल्क किनमेल केन्द्र बनेको थियो। म यहाँ आउँदा १७ वर्षको थिएँ, अहिले ४८ वर्षको भएँ। तर मेरो कथा यहीँ सकियो।’

केही पसलेले अब आफूहरू पनि हतियार राख्ने बताए। अरू भने रोए मात्रै।

दमनकारी र कमजोर राज्य

घटनाको केन्द्रमा रहेको म्याक्रोंको राज्य एकैपटक दमनकारी र कमजोर देखियो। फ्रान्सेली दंगा नियन्त्रण प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यालयका विद्यार्थीविरुद्ध समेत नियमित रूपमा अश्रुग्यास, स्तब्ध पार्ने ग्रिनेड र रबरका गोली प्रहार गर्ने हतियार प्रयोग गर्छ।

नीति मानौँ मानिस मार्नुबाहेक सबै काम गर्ने भन्ने छ। सन् २००५ र २०२३ का पछिल्ला दुई ठूला दङ्गा प्रहरीसँगको मुठभेडमा युवाहरूको मृत्यु भएपछि सुरु भएका थिए। तर शनिबार तोडफोड गर्नेहरू खुला रूपमा विध्वंस मच्चाइरहँदा पसलेहरूले प्रहरीलाई फोन गर्दा पनि सहयोग पाएनन्।

म्याक्रोंले आफूलाई सर्वशक्तिमान शासकका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनले आफ्नो नेतृत्वशैलीलाई ‘जुपिटेरियन’ अर्थात् रोमन देवता जुपिटरजस्तै शक्तिशाली भनेका छन्। उनी अरूसँग कमै परामर्श गर्छन्।

फ्रान्सेली अर्थशास्त्री फिलिप आघियोंले भने, ‘म्याक्रोंको सबैभन्दा कमजोर पक्ष वार्ता गर्न नसक्नु हो। उनीहरूलाई सामाजिक आन्दोलनसँग कसरी व्यवहार गर्ने भन्ने थाहा छैन। अथवा उनीहरूमा धैर्य छैन।’

यो म्याक्रोंको व्यक्तिगत कमजोरी मात्र होइन, फ्रान्सको ‘ठाडो’ राजनीतिक प्रणालीमै रहेको समस्या पनि हो। दार्शनिक गास्पार कोएनिगले सन् १८४८ को क्रान्तिबारे तोकभिलको पुस्तक देखाउँदै एउटा अंश पढेका थिए, ‘तर एउटा संस्था छ, जसलाई नष्ट गर्न सकिँदैन-केन्द्रीकरण।’

कोएनिगका अनुसार प्रदर्शनकारीहरूको लक्ष्य प्रायः फ्रान्सको शक्तिशाली नेतालाई हटाएर अर्को शक्तिशाली नेतालाई स्थापित गर्नु मात्रै हुन्छ।

म्याक्रों आफ्ना प्रहरीजस्तै निष्प्रभावी देखिन्छन्। करिब एक दशकको शासनकालमा उनले के उपलब्धि हासिल गरे भन्ने प्रश्न उठाउन सकिन्छ। फ्रान्सको आर्थिक वृद्धि सधैँझैँ सुस्त छ। उनको सबैभन्दा ठूलो उपलब्धि मानिएको अवकाश उमेर ६२ बाट ६४ वर्ष पुर्‍याउने निर्णय पनि विरोधपछि स्थगित गर्नुपर्‍यो।

सर्वेक्षण संस्था इप्सोस बीभीएका अनुसार उनको लोकप्रियता घटेर अहिलेसम्मकै न्यून १५ प्रतिशतमा पुगेको छ।

आर्थिक रूपमा पनि शासन गर्न कठिन फ्रान्स

म्याक्रोंले सन् २०२४ मा संसद्‌मा बहुमत गुमाएपछि सरकारले बजेट पारित गर्नसमेत संघर्ष गरिरहेको छ। उनका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आफूलाई ‘पाँचौँ गणतन्त्रका सबैभन्दा कमजोर प्रधानमन्त्री’ भनेका छन्।

फ्रान्सको बजेट घाटा बिस्तारै गम्भीर संकटमा परिणत भइरहेको छ। सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको १२० प्रतिशत पुगेको छ। संसद्ले घाटा घटाउने उपायमा सहमति गर्न सके यो अवस्था व्यवस्थापन गर्न सकिने थियो।

सन् २०१४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता तथा टुलुज स्कुल अफ इकोनोमिक्सका प्राध्यापक जाँ तिरोल भन्छन्, ‘मलाई लाग्छ, वित्तीय बजारलाई चिन्तित बनाएको कुरा केही पनि भइरहेको छैन भन्ने हो।’

उनले सन् २०१० को दशकमा ऋण संकट सामना गरेको ग्रिससँग फ्रान्सको तुलना गर्दै भने, ‘ग्रिसका मानिसहरूले एक बिन्दुमा अवस्था निकै खराब भएको अनुभव गरे। मलाई डर छ, हामी अझै त्यो अवस्थामा पुगेका छैनौँ।’

सन्तुलित बजेटप्रति जनसमर्थन कमजोर देखिन्छ। सरकारी खर्च कुल गार्हस्थ्य उत्पादनको ५७.३ प्रतिशत छ, जुन फिनल्यान्डसँगै पश्चिमी विश्वकै उच्चमध्ये पर्छ। तिरोलका अनुसार पाँच प्रतिशत बजेट घाटा हुँदाहुँदै पनि धेरै मानिसले म्याक्रोंको नीतिलाई मितव्ययी भन्दै आलोचना गर्छन्।

फ्रान्सेली राजनीतिक मञ्चमा अर्को शक्ति पनि छ, जो प्रायः छायामा देखिन्छ- रुस।

रुसको संघीय सुरक्षा सेवा एफएसबीको एकाइ ६१२४० ले फ्रान्सको जासुसी गर्छ र बारम्बार साइबर आक्रमण गर्छ। रुसी पक्षले उडुसको महामारी फैलिएको भन्ने कथित हल्लादेखि मध्यमार्गी उम्मेदवारहरूबारेका झुटा समाचारसम्म फैलाउने गरेको छ।

फ्रान्सको राष्ट्रपति चुनावले मस्कोलाई व्यस्त बनाउनेछ। तर फ्रान्स आफैँले पर्याप्त झुटा समाचार र षड्यन्त्रका सिद्धान्त उत्पादन गरिरहेको अवस्थामा रुसले थप आगो झोस्नैपर्ने आवश्यकता कम देखिन्छ।

फ्रान्सेलीहरू सर्वेक्षणमा लामो समयदेखि निराशावादीका रूपमा चिनिँदै आएका छन्। तर ओडोक्साको पछिल्लो अध्ययनले नयाँ कीर्तिमान देखाएको छ- ९० प्रतिशत फ्रान्सेली नागरिक आफ्नो देशको आर्थिक भविष्यप्रति निराश छन्। उनीहरू अब उग्र राजनीतिक विकल्प रोज्न तयार देखिन सक्छन्। सट्टेबाजी बजारले ले पेनलाई राष्ट्रपति बन्ने प्रबल सम्भावना भएकी नेतृका रूपमा हेरिरहेको छ।

भिसी शासनसँगको सम्बन्धका कारण लामो समयसम्म बदनाम रहेको दलका लागि यो ठूलो परिवर्तन हो। ले पेनका पिता जाँ‍-मारी ले पेनले सन् १९७२ मा नेसनल फ्रन्ट स्थापना गरेका थिए। उनी पटकपटक यहुदी नरसंहार अस्वीकार गरेको र जातीय घृणा फैलाएको अभियोगमा दोषी ठहरिएका थिए। उनीसँगै सन् १९४५ मा बर्लिनस्थित हिटलरको चान्सलरी भवनको रक्षा गर्ने वाफेन‍-एसएसको फ्रान्सेली चार्लेमेन डिभिजनका पूर्वसदस्य पियरे बुस्के पनि दल स्थापनामा संलग्न थिए।

जाँ‍-मारी ले पेनले सन् २०११ सम्म दलको नेतृत्व गरे। तर उनलाई सधैँ चुनाव जित्न नसक्ने अतिवादीका रूपमा हेरिन्थ्यो। उनलाई गणतन्त्रको सैतानसमेत भनिन्थ्यो।

छोरी मरिन ले पेनले पितालाई नेतृत्वबाट विस्थापित गरिन्, पछि दलबाटै निष्कासित गरिन् र पार्टीको नाम परिवर्तन गरेर नेसनल र्‍याली राखिन्। उनले दलमाथिको भिसी शासनको दाग मेटाउने अभियान चलाइन्, जसलाई फ्रान्सेली भाषामा ‘देदीआबोलिसास्यों’ अर्थात् सैतानी छवि हटाउने प्रक्रिया भनिन्छ।

पिताले भिसी शासनका नेता मार्सल पेटाँको प्रशंसा गर्थे भने छोरीले चार्ल्स द गोलको सम्मान गर्छिन्। उनले दलका आधिकारिक अभिव्यक्तिबाट यहुदीविरोधी भावना हटाएकी छन्, यद्यपि अनौपचारिक रूपमा यस्ता प्रवृत्ति देखिइरहन्छन्।

खोजमूलक समाचार वेबसाइट मेडियापार्टले उनका उपनेता जोर्डन बार्देलाले किशोरावस्थामा अनलाइनमा यहुदीविरोधी टिप्पणी गरेको आरोप लगाएको छ। बार्देलाले त्यसलाई अस्वीकार गरेका छन्। दलकी पूर्वसंसदीय उपाध्यक्ष क्यारोलिन पार्मन्तिएमाथि पनि यस्तै आरोप लागेका छन्, जसलाई उनले अस्वीकार गरेकी छन्। सन् २०२४ मा नाजी चिह्न भएको टोपी लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दलकी एक संसदीय उम्मेदवारले उम्मेदवारी त्यागेकी थिइन्।

ले पेनले यहुदीहरूलाई भन्दा मुस्लिम र गैरश्वेत आप्रवासीहरूलाई बढी निसाना बनाउँछिन्।

फ्रान्सेली इतिहासकार जुलियन ज्याक्सन भन्छन्, ‘भिसी शासनबाट दूरी बनाउनुको अर्थ त्यस शासनले प्रतिनिधित्व गरेको राष्ट्रवादबाट पनि दूरी बनाउनु हो भन्ने होइन। त्यस राष्ट्रवादको एउटा रूपलाई म बहिष्करणवादी, विदेशीविरोधी र अन्तर्मुखी राष्ट्रवाद भन्छु। आप्रवासी र मुस्लिमबारे उनीहरूले प्रयोग गर्ने भाषा सन् १९३० को दशकका अतिवादी दक्षिणपन्थीहरूले यहुदीबारे प्रयोग गर्ने भाषासँग मिल्दोजुल्दो छ। यहुदीको ठाउँमा मुस्लिम राखिदिनुस्, उही कुरा हुन्छ- उनीहरू फ्रान्समा घुलमिल हुन सक्दैनन्, उनीहरूको दोहोरो पहिचान छ, उनीहरू हाम्रा होइनन्। मलाई लाग्छ, उनीहरूको छवि सफा गर्ने प्रयास सतही मात्रै हो।’

केही मानिस अझै पनि नेसनल र्‍यालीलाई गणतन्त्रको सैतान ठान्छन्। तर अहिले प्रतिस्पर्धी सैतानहरू पनि छन्। मध्यमार्गी र दक्षिणपन्थीहरूका लागि मेलँसों त्यस्तै पात्र हुन् भने अतिवामपन्थी र दक्षिणपन्थीहरूका लागि म्याक्रों। यसले म्याक्रोंको राजनीतिक परियोजनासँग जोडिएका सबैको छवि धूमिल बनाएको छ।

केही समयअघिसम्म ले पेनलाई हराउन सक्ने मध्यमार्गी उम्मेदवार म्याक्रोंका पूर्वप्रधानमन्त्री एडुआर फिलिप मानिन्थे। तर उनको समर्थन पनि करिब १५ प्रतिशतमा झरेको छ।

‘पपुलोक्रेसी’ पुस्तककी लेखिका तथा नेसनल र्‍यालीबारे लामो समयदेखि अध्ययन गर्दै आएकी क्याथरिन फिएस्की भन्छिन्, ‘मलाई लाग्छ, फिलिपमा त्यो क्षमता छैन। उनको उच्चवर्गीय ठाँटबहादुर शैली बहुसङ्ख्यक मतदातामाझ चल्नेवाला छैन।’

मध्यमार्गी वामपन्थी उम्मेदवार राफेल ग्लुक्समानको राष्ट्रपति बन्ने सम्भावना सट्टेबाजी बजारमा २० मध्ये एक अर्थात् पाँच प्रतिशत हाराहारी मानिएको छ। आघियों भने ‘एक प्रकारको नयाँ द गोल’ उदाउने आशा गरिरहेका छन्।

राष्ट्रपति बनेपछि ले पेनले के गर्लिन्?

अहिले मुख्य प्रश्न ले पेन राष्ट्रपति बनेपछि कसरी शासन गर्लिन् भन्ने हो। कतिपयले उनी सत्तामा पुगेपछि व्यवहारवादी बन्ने र इटालीकी कथित अतिदक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीजस्तै मध्यमार्गी हुने अनुमान गरेका छन्। यसलाई मेलोनीकरण भनिएको छ।

तर मेलोनी, ले पेन र जर्मनीकी अतिदक्षिणपन्थी नेता एलिस वाइडेलबारे नयाँ पुस्तक ‘फेम एक्स्त्रेम’ लेखेकी मारिओँ भाँ राँतेर्घेमले फ्रान्स र इटालीबीचको भिन्नता औँल्याएकी छन्।

उनका अनुसार इटालीका मध्यमार्गी तथा अन्तर्राष्ट्रिय सहकार्यका पक्षधर राष्ट्रपति सर्जियो मत्तारेलाले सरकारलाई हटाउन सक्ने अधिकार राख्छन्। यसले मेलोनीको महत्त्वाकांक्षा र अभिव्यक्तिलाई सीमित गर्छ। गठबन्धन जोगाउनुपर्ने बाध्यता पनि छ। मेलोनी उत्तर एटलान्टिक गठबन्धनप्रति गहिरो प्रतिबद्ध छिन्।

अझ महत्त्वपूर्ण कुरा, राँतेर्घेमका अनुसार इटालीको विगतमा विश्वशक्ति रहेको इतिहास छैन, तर फ्रान्ससँग छ। ले पेनले पनि द गोलले जस्तै आफूलाई त्यही परम्पराको उत्तराधिकारी ठान्छिन्। उनले पश्चिमी गठबन्धनबाट दूरी बढाउने सम्भावना छ।

यसको पहिलो अर्थ युक्रेनलाई युरोपले दिँदै आएको सहयोग रोक्नु हुनेछ। फ्रान्सले खर्च धान्न नसक्ने भन्दै ले पेनले सत्तामा आएको छ महिनाभित्र किएभलाई दिइने फ्रान्सेली आर्थिक सहयोग रोक्ने बताएकी छन्।

उनले यसै महिना फाइनान्सियल टाइम्सलाई भनेकी थिइन्, ‘युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई इमानदारीपूर्वक भन्नुपर्ने कुरा यही हो- हामी अब थप सहयोग गर्न सक्दैनौँ।’

रुससँग ले पेनको पुरानो निकटता पनि छ। सन् २०१४ मा रुसले क्रिमियामाथि आक्रमण गर्दा उनले त्यसलाई समर्थन गरेकी थिइन्। त्यसपछि पहिलो चेक‍-रुसी बैंकले उनको दललाई १ करोड १० लाख युरो ऋण दिएको थियो।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि फ्रान्सको राष्ट्रपति चुनावको तयारीमा रहेकी ले पेनले पुटिनसँग हात मिलाएको तस्बिर भएका १२ लाख चुनावी पर्चा नष्ट गर्नुपरेको थियो।

उनी अहिले पनि पुटिनको पक्षमा छिन् कि छैनन् भन्ने प्रश्न गौण भएको फिएस्की बताउँछिन्। उनका अनुसार युक्रेनलाई थप एक पैसा पनि नदिने र त्यो आफ्नो युद्ध वा आफ्नो युरोपको युद्ध होइन भन्ने निर्णय गर्न पुटिनसमर्थक हुनैपर्दैन।

युरोपेली संघका विषयमा पनि मेलोनी र ले पेनबीच भिन्न छ। युरोपेली सङ्घको ‘नेक्स्ट जेनेरेसन’ कोषबाट इटालीले १६६ अर्ब युरो अनुदान तथा ऋण पाएकाले मेलोनी युरोपेली सहकार्यप्रति सकारात्मक रहेको फिएस्की बताउँछिन्।

तर फ्रान्स युरोपेली संघको दोस्रो ठूलो खुद योगदानकर्ता हो। ले पेन फ्रान्सको योगदान घटाउन, युरोपेली आयोगको अधिकार सीमित गर्न र युरोपेली केन्द्रीय बैंकमार्फत ठूलो परिमाणमा ऋण परिचालन गर्न चाहन्छिन्।

राँतेर्घेम भन्छिन्, ‘ले पेनको आत्मकथा पढ्नुभयो भने युरोपेली संघप्रति गहिरो घृणा देखिन्छ।’

ले पेनले फ्रान्सेली मुस्लिम, अन्य आप्रवासी र आप्रवासी मूलका फ्रान्सेली नागरिकसँग पनि टकराव खोज्ने सम्भावना छ। आप्रवासन उनको दलको ऐतिहासिक मुख्य मुद्दा हो।

उनले सामाजिक आवास, कल्याणकारी सुविधा र सरकारी जागिरमा फ्रान्सेली नागरिकलाई प्राथमिकता दिन संविधान संशोधन गर्ने जनमतसङ्ग्रह गराउने योजना बनाएकी छन्। यस्तो व्यवस्था युरोपेली कानुनसँग बाझिनेछ।

फ्रान्समा विद्यालयमा छात्राहरूले हिजाब लगाउन पहिले नै प्रतिबन्ध छ। ले पेनले सार्वजनिक स्थानमा वयस्क महिलाले समेत हिजाब लगाउन नपाउने व्यवस्था गर्न चाहन्छिन्। यसले प्रहरीले सडकमा गस्ती गर्दै महिलालाई घुम्टो वा हिजाब हटाउन आदेश दिने अवस्था सिर्जना गर्न सक्छ। प्रहरीका धेरै सदस्य यसमा इच्छुक हुन सक्छन्।

साइन्स पो सिभिपोफको सर्वेक्षणअनुसार सन् २०२४ को संसदीय चुनावको दोस्रो चरणमा ६७ प्रतिशत सैनिक र प्रहरी कर्मचारीले नेसनल र्‍यालीलाई मत दिएका थिए।

वित्तीय बजारसँग ले पेनको टकराव?

ले पेनले वित्तीय बजारसँग पनि टकराव गर्लिन्? सायद उनलाई आफैँलाई पनि थाहा छैन। आघियों व्यङ्ग्य गर्दै भन्छन्, ‘उनी अर्थतन्त्रबारे केही पनि बुझ्दिनन्।’

उनका आर्थिक नीतिहरू परस्पर विरोधाभासी देखिन्छन्। यसै महिना सार्वजनिक ऋणबारे अचानक गम्भीर देखिँदै उनले संसद्लाई सार्वजनिक ऋण र कुल गार्हस्थ्य उत्पादनको अनुपात घटाउने गरी मात्रै बजेट पारित गर्न बाध्य पार्ने ‘स्वर्णिम नियम’बारे जनमतसङ्ग्रह गराउने प्रस्ताव गरिन्।

त्यसै समयमा उनी केही कर कटौती र सरकारी खर्च वृद्धि गर्ने योजना पनि अघि सारिरहेकी छन्। खर्च घटाउन चाहिन् भने पनि म्याक्रोंले जस्तै उनले राष्ट्रिय सभाबाट त्यसलाई पारित गराउन नसक्ने अवस्था आउन सक्छ। सम्भवतः उनको दलले संसद्मा नियन्त्रण कायम गर्न सक्नेछैन। मेलँसों र सडक आन्दोलनकारीहरूले म्याक्रोंविरुद्ध जस्तै उनीविरुद्ध पनि संघर्ष गर्न सक्छन्।

फ्रान्सका लागि बजेट घाटा घटाउने दिशामा अघि बढ्नु पीडादायी भए पनि उत्तम विकल्प भएको तिरोल बताउँछन्। घाटा निरन्तर उच्च रहिरहे वित्तीय सङ्कट निम्तिन सक्छ। यस्तो अवस्थामा राजनीतिक दल र नागरिकले वास्तविकता स्वीकार गर्दै खर्च कटौती गर्नुपर्ने हुन सक्छ।

सन् २०१५ मा ग्रिसले युरोपेली स्थायित्व संयन्त्रबाट तेस्रोपटक उद्धार प्याकेज लिएको थियो। त्यससँगै उसले कडा वित्तीय मितव्ययिताका उपाय स्वीकार गर्नुपरेको थियो।

तर अर्को बाटो पनि छ-फ्रान्स अर्जेन्टिनाजस्तै बन्न सक्छ। यसको अर्थ ऋण तिर्न नसक्ने घोषणा गर्नु र वित्तीय बजारसँग भिड्ने राष्ट्रवादी सरकारहरू निर्वाचित हुनु हो। केही फ्रान्सेली मतदाता यस्तो विकल्पप्रति आकर्षित देखिन्छन्।

फ्रान्सेली केन्द्रीय बैंकसँग रहेको राष्ट्रिय ऋणको हिस्सा नतिर्ने मेलँसोंको प्रस्तावले धेरै दिनसम्म फ्रान्सेली राजनीतिमा प्रमुख स्थान पाएको देखेर तिरोल अचम्मित भएका थिए। उनी यसलाई ‘इच्छापूर्ण कल्पना’ भन्छन्।

तिरोल भन्छन्, ‘यदि हामी अर्जेन्टिनाको बाटोमा गयौँ भने युरोप गुमाउनेछौँ। हामीले युरोजोन छाडेर फेरि फ्रान्क मुद्रामा फर्कनुपर्नेछ। युरोपेली सन्धिहरूअनुसार ऋण नतिर्न पाइँदैन। फ्रान्सलाई निरन्तर घाटा चलाउन र ६२ वर्षमै अवकाश दिन जर्मनीले सहयोग गर्छ भन्ने मलाई लाग्दैन।’

म यो लेख लेखिरहँदा मेरो छिमेकमाथि निगरानी गर्ने हेलिकप्टर उडिरहेको छ। सडकपारिको सुपरमार्केट अझै काठका पाता ठोकेर बन्द गरिएको छ। यस शनिबारका प्रदर्शनका लागि सरकारले सैनिक परिचालन गर्दै छ। तर आगामी वर्ष जे हुन सक्छ, त्यसको तुलनामा सन् २०२६ शान्त वर्षजस्तो देखिन सक्छ।

‘इम्पोसिबल सिटी : पेरिस इन द ट्वेन्टी‍-फर्स्ट सेन्चुरी’ पुस्तकका लेखक साइमन कुपरले लेखेको यो सामग्री फाइनान्सियल टाइम्सबाट अनुवाद गरिएको हो। 

प्रकाशित: ७ कार्तिक २०८३ १७:३१ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast