काठमाडौँ- इरानको अशान्त दक्षिण-पूर्वी क्षेत्रमा सेनाका कर्मचारीहरू बोकेको बसमा आक्रमण भएको छ । बिहीबारको आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
सिस्तान–बलुचिस्तान प्रान्तको मकरान तटमा तैनाथ एउटा सैनिक विभागका कर्मचारीहरू बोकेको मिनीबसमा सशस्त्र आक्रमण भएको इरानी समाचार संस्था (इर्ना) ले जनाएको छ।
इर्नाले मृतक व्यक्तिको नाम दिएको छ तर मृतक सेनाका कर्मचारी भए नभएको खुलाएको छैन।
सिस्तान-बलुचिस्तान प्रान्तमा नै भएको अर्को घटनामा ‘कारबाहीमा खटिएको प्रहरी गस्ती दल सशस्त्र गैरकानुनी व्यक्तिहरूको आतंकवादी आक्रमणमा परेको छ,’ प्रान्तीय प्रहरीले बिहीबार इर्नामार्फत जारी सार्वजनिक वक्तव्यमा भनेको छ।
‘आक्रमणमा एक प्रहरी अधिकृत शहीद भएका छन् भने धेरै ‘आतंकवादी’हरू घाइते भएर भागेका छन,’ वक्तव्यमा भनिएको छ।
पाकिस्तान र अफगानिस्तानसँग सिमाना जोडिएको सिस्तान-बलुचिस्तानमा लामो समयदेखि इरानी सुरक्षा बल र कथित विद्रोही तथा लागूऔषध तस्करहरूबीच झडप हुने गरेको छ।
इरानका सबैभन्दा गरिब प्रान्तहरूमध्ये एक यो प्रान्तमा उल्लेखनीय संख्यामा जातीय बलुच जनसंख्या बसोबास गर्छ। उनीहरूमध्ये अधिकांश सुन्नी इस्लामका अनुयायी हुन् भने इरान शिया-बहुल राष्ट्र हो।-रासस/एएफपी



