युरोपमा अत्यधिक गर्मीका कारण ५० हजारजनाको मृत्यु

हिमाल प्रेस ७ कार्तिक २०८३ ८:५१ | Saturday, October 24, 2026
6
SHARES
युरोपमा अत्यधिक गर्मीका कारण ५० हजारजनाको मृत्यु तस्बिर : एएफपी/रासस

अत्यधिक तापक्रमले प्रभावित पार्दा यस गर्मीयाममा युरोप महादेशमा अनुमानित ५० हजार जनाको मृत्यु भएको छ। आधुनिक अभिलेख राख्न थालिएयताकै गर्मीका कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको यो मौसम बनेको छ।

युरोप विश्वमै सबैभन्दा छिटो तापक्रम बढिरहेको महादेश हो। यस वर्षको गर्मीयाम युरोपमा अहिलेसम्मकै सबैभन्दा तातो रह्यो। लगातार आएका तातो हावाका लहरबीच कैयौँ देशमा तापक्रमले नयाँ कीर्तिमान कायम गर्‍यो।

‘नेचर हेल्थ’ जर्नलमा प्रकाशित तथा प्रकाशनका लागि स्वीकृत दुई अनुसन्धानपत्रअनुसार यस वर्ष गर्मीका कारण भएको अतिरिक्त मृत्युसङ्ख्या यस शताब्दीकै उच्च हो। यो सन् २०२२ को गर्मीयाममा गर्मीसम्बन्धी कारणले मृत्यु भएका २९ हजार जनाको यसअघिको कीर्तिमानभन्दा निकै बढी हो।

लन्डनस्थित इम्पेरियल कलेज लन्डन, लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा कोपेनहेगन, भेनिस र बर्न विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको नमुना-आधारित अनुमानअनुसार यस गर्मीयाममा अत्यधिक गर्मीका कारण इटाली, फ्रान्स, स्पेन, जर्मनी र बेलायतमा सबैभन्दा धेरै अतिरिक्त मृत्यु भएका छन्।

सन् २००० देखि २०२५ सम्मको तथ्याङ्क समेटिएको अनुसन्धान यसै महिना ‘नेचर हेल्थ’मा प्रकाशित भएको हो। सन् २०२६ को गर्मीयामसम्बन्धी अर्को अनुसन्धानपत्र पनि उक्त जर्नलमा प्रकाशनका लागि स्वीकृत भएको छ।

इम्पेरियल कलेज लन्डनको वातावरणीय नीति केन्द्रकी अनुसन्धानकर्ता तथा दुवै अनुसन्धानपत्रकी लेखक क्लेयर बार्न्सले सन् २०२६ को गर्मीयाम युरोपका धेरैजसो क्षेत्रमा गर्मीका कारण मृत्यु हुने घटनाको अभिलेखमा सबैभन्दा खराब मौसम बनेको हुन सक्ने बताइन्।

उनले भनिन्, ‘यी तथ्याङ्कले हाम्रा गर्मीयाम झन् तातो र चरम बन्दै जाँदा जनस्वास्थ्यमा पर्ने असर पनि गम्भीर हुँदै गएको छ भन्ने कुरा स्पष्ट रूपमा सम्झाउँछन्।’

गर्मीका कारण मृत्यु कसरी हुन्छ?

अत्यधिक गर्मीले हुने ‘हिटस्ट्रोक’ अर्थात् शरीरको तापक्रम असामान्य रूपमा बढ्दा ज्यान जान सक्छ। तर गर्मीका कारण हुने अधिकांश मृत्यु अप्रत्यक्ष हुन्छन्। शरीरले आफूलाई चिसो राख्न संघर्ष गर्दा हृदयाघात, मस्तिष्काघात र श्वासप्रश्वासमा गम्भीर समस्या हुने जोखिम बढ्छ।

वृद्धवृद्धा, बालबालिका तथा पहिलेदेखि नै स्वास्थ्य समस्या भएका मानिस यस्तो जोखिममा बढी हुन्छन्।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका सहायक प्राध्यापक तथा अनुसन्धानपत्रका लेखक माल्कम मिस्ट्रीले भने, ‘गर्मी मौन हत्यारा हो।’

उनका अनुसार गर्मीका कारण हुने मृत्युका घटनाहरू प्रायः वास्तविकताभन्दा कम अभिलेख गरिन्छन्।

अनुसन्धानका लागि वैज्ञानिकहरूले तापक्रमसम्बन्धी तथ्यांक र विगतमा गर्मी तथा मृत्युदरबीच देखिएको सम्बन्धमा आधारित नमुना प्रयोग गरी गर्मीका कारण भएको अतिरिक्त मृत्युसङ्ख्या अनुमान गरेका थिए।

अध्ययनमा युरोपेली संघका ८५४ सहरी क्षेत्रका साथै बेलायत, नर्वे र स्विट्जरल्यान्डका क्षेत्र समेटिएका थिए। यी क्षेत्रले सम्बन्धित जनसङ्ख्याको करिब ४० प्रतिशत हिस्सा ओगट्छन्।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले तातो हावाका लहरसहितका चरम मौसमी घटनालाई अझ तीव्र र बारम्बार हुने बनाइरहेको छ।

बेलायतकी जलवायु सङ्क्रमणमन्त्री केटी ह्वाइटले अनुसन्धानमा प्रस्तुत चिन्ताजनक तथ्यांकले यस गर्मीयाममा जलवायु सङ्कटका कारण आफ्ना प्रियजन गुमाएका हजारौँ परिवारको पीडा प्रतिबिम्बित गर्ने बताइन्।

यस गर्मीयाममा युरोपका कैयौँ देशमा अत्यधिक गर्मीका कारण विद्यालय, अस्पताल र अन्य सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न कठिन भएको थियो। डढेलो र खडेरीले पनि समस्या थपेका थिए।

गर्मीयामको तातो लहरपछि युरोपेली आयोगले मंगलबार एउटा कानुनी प्रस्ताव अघि सार्ने तयारी गरेको छ। उक्त प्रस्तावले सार्वजनिक निकायहरूलाई लगानीसम्बन्धी सबै निर्णय गर्दा जलवायु जोखिमलाई ध्यानमा राख्न प्रोत्साहित गर्नेछ।

यो जलवायु जोखिमको पूर्वतयारीसम्बन्धी युरोपेली सङ्घको पहिलो कानुनी प्रस्ताव हुनेछ। तर यससँगै नयाँ आर्थिक स्रोत उपलब्ध गराउने अपेक्षा गरिएको छैन।

आयोगले तातो हावाका लहर सामना गर्न छुट्टै योजना पनि तयार गरिरहेको छ। आयोगका प्रवक्ताका अनुसार यस योजनामा तथ्याङ्क सङ्कलन र गर्मीको जोखिमबारे समयमै जानकारी दिने पूर्वचेतावनी प्रणाली समावेश हुनेछन्।

प्रकाशित: ७ कार्तिक २०८३ ८:५१ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast