विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री आचार्य

हिमाल प्रेस १८ असोज २०८३ १७:५९ | Sunday, October 4, 2026
विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री आचार्य चेतनारायण आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

राप्ती उपत्यका (देउखुरी)मा आइतबार भएको आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

प्रदेशको कूल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए। ‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौँ। संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने,‘गत वर्ष संघीय सशर्तको बजेट फिर्ता भएको देखियो। संघबाट आएको बजेट खर्च गर्न सकेनौँ भने उतै फर्किएर जाने हो।’

संघबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गइरहेको अवस्थामा उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने मुख्यमन्त्री आचार्यले बताए। प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले विद्यालय तहबाटै स्वस्थ जीवनशैली र पोषणसम्बन्धी चेतना विकास गर्न आवश्यक रहेको बताए। स्वास्थ्यका विभिन्न सूचकमा सुधारका संकेत देखिएको भए पनि खोपको सूचकमा थप सुधार आवश्यक रहेको उनले बताए।

प्रदेश स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संवेदनशील भएर काम गर्नुपर्ने बताए।

स्वास्थ्य सचिव विकास देवकोटाले रुपन्देहीमा ठूलो अस्पताल निर्माण भइरहेको जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सेवाको क्षेत्रमा क्रमिक सुधार भइरहेको बताए।

स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले प्रदेशका प्रमुख स्वास्थ्य सूचक र चुनौतीबारे प्रस्तुतीकरण गरे।

प्रकाशित: १८ असोज २०८३ १७:५९ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast