काठमाडौँ- नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यसहित लैनचौरस्थित भारतीय राजदूतावासले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा सांगीतिक साँझ आयोजना गरेको छ। दूतावासको प्रेस सूचना तथा संस्कृति प्रभागले बिहीबार दूतावास परिसरमा आयोजना गरेको कार्यक्रममा नेपाली र भारतीय लोकसंगीतका विविध प्रस्तुति समेटिएका थिए।
दुवै देशका मौलिक संगीत, संस्कृति र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रममा नेपालको ख्यातिप्राप्त ब्यान्ड त्रिकाल तान्त्रिक्सले लोक, फ्युजन र समकालीन संगीतको संयोजनमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। ब्यान्डले नेपाली संगीतको मौलिकता र आधुनिक प्रस्तुति शैलीलाई एकसाथ पस्किएको थियो।
भारतबाट आएकी लोकगायिका विजया भारती र उनको समूहले भारतीय लोकसंगीत प्रस्तुत गरेको थियो। भारतीले आफ्नो प्रस्तुति सुरु गर्नुअघि पशुपतिनाथको महिमा वर्णन गर्दै गणेशस्तोत्र प्रस्तुत गरेकी थिइन्। धार्मिक आस्था र सांगीतिक परम्परालाई जोडेर सुरु गरिएको उनको प्रस्तुतिले कार्यक्रममा आध्यात्मिक र सांस्कृतिक आयाम थपेको थियो।
भारतका विभिन्न स्थानमा प्रचलित लोकधुन र सांगीतिक परम्परालाई प्रस्तुत गरेकी भारतीले नेपालप्रतिको आफ्नो आत्मीयता पनि व्यक्त गरिन्। उनले आफूले ३०/३१ देशमा आफूले प्रस्तुति दिइसकेको उल्लेख गर्दै नेपाल आउन पाउँदा खुसी लागेको बताइन्। फेरि नेपाल आउने अवसर पाए अझ खुसी हुने उनको भनाइ थियो।

उनले आगामी दिनमा पनि नेपालका लागि विभिन्न काम गर्ने इच्छा व्यक्त गर्दै नेपालसँगको याे स्तरकाे सम्बन्धलाई थप अघि बढाउनुपर्नेमा जोड दिएकी थिइन्। उनको प्रस्तुतिले सांगीतिक मनोरञ्जन मात्र प्रदान गरेन, दुई देशबीचको सांस्कृतिक निकटतालाई पनि अभिव्यक्त गर्यो।
कार्यक्रममा दूतावासको प्रेस, सूचना र संस्कृति प्रभाग प्रमुख एवं दूतावासका प्रवक्ता वशिष्ट नन्दनले अतिथिहरूलाई स्वागत गरेका थिए। दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डे र भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, परराष्ट्र मन्त्रालयका अधिकारी तथा दूतावासका अन्य विभागीय प्रमुख र अधिकारीका साथ कला, संस्कृति, कूटनीति, प्राध्यापन र पत्रकारितासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
दूतावासले विभिन्न पर्व तथा सांस्कृतिक अवसरमा आयोजना गर्दै आएका कार्यक्रमले नेपाल र भारतबीचको आपसी समझदारी तथा जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुर्याउँदै आएका छन्। नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक तथा कूटनीतिक तहमा मात्र सीमित छैन। भाषा, संस्कृति, धार्मिक परम्परा, संगीत र चाडपर्वले पनि दुई देशका नागरिकलाई लामो समयदेखि जोड्दै आएका छन्।
जनस्तरकाे सम्बन्ध त पशुपतिनाथको मन्दिरमा पुग्दा पनि देखिन्छ भन्दै पशुपतिनाथको महिमाबाट सुरु भएको सांगीतिक प्रस्तुतिदेखि नेपाली र भारतीय लोकधुनको संगमसम्मका गतिविधिले दुई देशबीचको यही सांस्कृतिक निकटतालाई उजागर गरेका थिए।
दशैँ, तिहार र छठजस्ता पर्वका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमले पारस्परिक सद्भाव अभिवृद्धि गर्नुका साथै दुवै देशका कलाकारलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्छन्। भारतीय दूतावासले आयोजना गरेको यो सांगीतिक साँझ पनि सांस्कृतिक कूटनीतिमार्फत नेपाल-भारत सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउने प्रयासका रूपमा रहेको थियो।




