बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा?

हिमाल प्रेस १७ भदौ २०८३ १७:२३ | Wednesday, September 2, 2026
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा? नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही भदौ १० गते आएको रसुवाको भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो। घरबाट निकालिएका शव आज हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी। तस्बिर : रासस

काठमाडौँ- सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा यो रकम निकासा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि एक÷एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो।

त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत भदौ १२ गते ६ करोड ५० लाख र १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि एक करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि दुई करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको छ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि एक करोड निकासा गरिएको छ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ।

गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते एक करोड निकासा दिएपछि अब कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ।

साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast