आज गणेशमान सिंहको २९औँ स्मृति दिवस, यस्तो छ उनको राजनीतिक योगदान

हिमाल प्रेस २ असोज २०८३ ७:०० | Friday, September 18, 2026
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस, यस्तो छ उनको राजनीतिक योगदान

काठमाडौँ- २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन्।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए।

१९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो।

उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।

२००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे।

उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व गरे। प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए।

२०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताए।

२०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे।

२०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहे।

प्रकाशित: २ असोज २०८३ ७:०० | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast