विपद् व्यवस्थापनमा तीन तहको सरकारबीच समन्वय आवश्यक : रास्वपा

हिमाल प्रेस १८ भदौ २०८३ २०:११ | Thursday, September 3, 2026
विपद् व्यवस्थापनमा तीन तहको सरकारबीच समन्वय आवश्यक : रास्वपा फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वय अघि बढाउन जोड दिएको छ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थामा उद्धार, राहत र पुनःस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको हो।

पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद् प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत र सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

त्यसैगरी, बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काममा पार्टीका नेता तथा कार्यकर्तालाई थप सक्रिय बनाउने निर्णय गरेको छ। विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय पनि गरिएको जनाइएको छ।

बैठकले पछिल्लो विपद्को अवस्थाको समीक्षा गर्दै भविष्यमा यस्ता प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

रास्वपाले विपद् व्यवस्थापनलाई कुनै एक दल वा सरकारको मात्र जिम्मेवारीका रूपमा नहेरी राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ।

बैठकले सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।

प्रकाशित: १८ भदौ २०८३ २०:११ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast