तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

हिमाल प्रेस ३१ भदौ २०८३ १९:५२ | Wednesday, September 16, 2026
तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

बुटवल- बुद्धजन्मस्थल लुम्बिनीमा यही असोज २ गतेदेखि ४ गतेसम्म ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो। सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ।

आयोजकले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश) ले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनमा उच्चपदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि गरी १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने यूनेस्को सस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन्।

उनका अनुसार सम्मेलनमा वृहत्तर लुम्बिनी क्षेत्रको रूपान्तरण, सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण, र समावेशी स्थानीय आर्थिक विकासमा केन्द्रित छलफल गरिने छ।

तीन दिनसम्म चल्ने यस सम्मेलनले सैद्धान्तिक बहसलाई ठोस कार्यदिशामा परिणत गर्ने लक्ष्य राखेको उनले बताइन्।

बृहतर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचिन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुरलगायतका महत्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थलहरू रहेका छन्।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले विश्व बैंकको सहयोगमा अघि बढाइएको ग्लाण्ड परियोजना अन्तर्गत सम्मेलन गरिएको बताए।

उनले नेपाल सरकारले अघि बढाएको उक्त परियोजना कार्यान्वयनलाई केन्द्रमा राखेर बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटनसम्बन्धी पूर्वाधार तथा सेवामा सुधार, स्थानीय रोजगारी प्रवद्र्धन र सम्पदामैत्री विकासलाई प्राथमिकता दिने गरी सम्मेलनमा विज्ञहरुले छलफल गर्ने बताए।

तीनदिने सम्मेलन साझा घोषणापत्र जारी गरी सम्पन्न हुनेछ। सम्मेलनमा भारत, श्रीलंका, इन्डोनेसिया, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्डलगायतका देशका विज्ञ सहित १५० जना र अनलाइन रजिष्ट्रेशनमार्फत एक सय जनाको सहभागिता रहने जनाइएको छ।्

लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो। विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ।

सम्मेलनमा बौद्ध ध्यान, बौद्ध धर्मगुरुसँग संवाद तथा लुम्बिनी र तिलौराकोट–कपिलवस्तुको स्थलगत अवलोकन समेत गरिने कार्यक्रम रहेको युनेस्कोले जनाएको छ।

प्रकाशित: ३१ भदौ २०८३ १९:५२ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast