प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस नगर्न आग्रह गर्दै राज्य र सरकार साथमा रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।’
६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारको खबरले आफूहरू अझै डटेर लागि रहेको सन्देश दिएको शाहले बताएका छन्।
‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ,’ उनले भनेका छन्, ‘यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो।’
बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन्।
बाढीका कारण वृद्धाश्रममा बसिरहेका बृद्धबृद्धासमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
‘बाढी आउनुअघिसम्म हजुर आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला,’ सन्देशमा भनिएको छ, ‘नातिनातिनाहरू हात हल्लाउँदै विद्यालय गएको हेरिबस्नुहुन्थ्यो होला। उनीहरू आउने पर्खाइमा बाटोमा नजर लगाइरहनुहुन्थ्यो होला।’
चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःखसुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको उनले उल्लेख गरेका छन्।
‘अहिले न ती घरआँगन छन्, न त चौतारीमा बसेर दुःखसुख साट्ने अवस्था नै छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो।’
बाढीका कारण कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र काँधमा हुर्काएका नातिनातिना बगेको हेर्न विवश हुनुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
जीवनभर पसिना बगाएर जोडेको घर, खेतबारी तथा सन्तानसरह माया गरेर हुर्काएका पशुपन्छीसमेत क्षणभरमै बाढीमा बगेको उनले बताएका छन्।
आफ्नै घरव्यवहार सम्हालिरहेका ज्येष्ठ नागरिक अहिले सरकारले व्यवस्था गरेका अस्थायी शिविरमा बस्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधा पुर्याइएको बताएका छन्।
‘अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौँ,’ उनले भनेका छन्।
बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,’ उनले भनेका छन्।
जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गरेका ज्येष्ठ नागरिक भोटेकोशीको बाढीले ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ।
‘हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ,’ उनले भनेका छन्, ‘कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देशन गर्नुहोस्।’
आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको उनले बताएका छन्। ‘एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो,’ उनले भनेका छन्।
पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, गिज्याउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्।
बाढीपछि उद्धार तथा खोजीमा सुरक्षाकर्मी अझै खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर खोजी गरिरहेको बताएका छन्।


