सुरुङभित्र फसेकाको खोजी अझै जारी, उद्धारमा अनेक चुनौती

हिमाल प्रेस २२ भदौ २०८३ १६:४४ | Monday, September 7, 2026
सुरुङभित्र फसेकाको खोजी अझै जारी, उद्धारमा अनेक चुनौती

नुवाकोट- रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीले भोटेकोशी र त्रिशूली नदीमा आधारित जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। ती आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन्। सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंकामा नेपाली सेना, आयोजना र विदेशी विशेषज्ञ टोलीले खोज तथा उद्धार जारी राखेका छन्।

१११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा भदौ १० गतेदेखि नै उद्धार प्रयास सुरु भएको थियो। आयोजनाका वरिष्ठ जियोलोजिष्ट तथा टनेलविज्ञ विष्णु सिवाकोटीका अनुसार भदौ १२ गतेदेखि उद्धारलाई निरन्तरता दिइएको थियो। सेनाले भदौ १३ गतेदेखि सक्रिय रुपमा उद्धार सुरु गरेको थियो।

बाढीका कारण हेडवक्र्स पूर्णरुपमा क्षतिग्रस्त भए पनि टनेलमा खासै क्षति नभएको आयोजनाले जनाएको छ। सेनाले हेलिकप्टरमार्फत जेनेरेटरलगायत उपकरण पुर्‍याएको थियो। भदौ १४ गते एक कर्मचारीको उद्धार गरी उनको सहयोगमा टनेलमा खोजी गरिएको थियो। करिब २७५ मिटरभित्रसम्म पुग्दा कोही नभेटिए पनि खोजी जारी छ। आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन रहेको जनाइएको छ।

२० मेगावाटको लाङटाङ खोलामा पनि भदौ १० गतेदेखि उद्धार प्रयास सुरु भएको थियो। सेनाले पहिलो दिन रेकी गरी भदौ १३ गतेदेखि प्रत्यक्ष उद्धार थालेको थियो। टनेलभित्र करिब ६० मिटर पुगेपछि ठूला चट्टान भेटिएपछि ग्यास वेल्डिङमार्फत सहायक टनेलमा प्वाल पारेर खोजी गरिएको थियो।

भदौ १६ गते नेपाली सेनाका २५ र आयोजनाका तीन दक्ष जनशक्ति उपकरणसहित परिचालन भएका थिए। खोजीका क्रममा टनेलभित्र तीन जनाको शव भेटिएको सेनाले जनाएको छ। थप मानिसको खोजी भने जारी छ। २२ मेगावाट क्षमताको चिलिमे आयोजनामा भदौ १० गतेदेखि सेनाले उद्धार सुरु गरेको थियो। भदौ १३ गते भारतबाट आएको विशेषज्ञ टोली पनि उद्धारमा जोडिएको थियो।

बाढीले आयोजनाका बाहिरी संरचना बगाएपछि टनेलसम्म पुग्न कठिन भएको थियो। ठूलो हेलिकप्टर अवतरण गर्न नसकेपछि सानो हेलिकप्टरबाट जनशक्ति र उपकरण ओसारिएको थियो। स्याफ्रुबेँसीबाट एक्साभेटर प्रयोग गरी बाटो बनाउने कामसमेत गरिएको थियो।

हाल मुख्य टनेलभित्र करिब १०० मिटर प्रवेश गर्न सकिएको छ। भारतीय सेनाका ४० जनासहितको टोली नेपाली सेनाको समन्वयमा खोजीमा छ। आयोजनाबाट दुई शव फेला परिसकेका छन्।

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा बाढीका बेला ठूलो सङ्ख्यामा कामदार सुरुङका विभिन्न भागमा कार्यरत रहेको अनुमान छ। आयोजनाका रेसिडेन्ट हेड इन्जिनियर रवीन्द्र हमालका अनुसार करिब ५०० जनासम्म सुरुङभित्र काम गरिरहेका हुनसक्ने भए पनि कति बाहिर निस्किए र कति भित्र फसे भन्ने यकिन छैन।

सेनाले सुरुमा आयोजनास्थलबाट २५४ जनाको उद्धार गरेको थियो। करिब ५०० जना अझै सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ। टनेलबाट ११औँ दिनमा एक चिनियाँ नागरिकको जीवितै उद्धार भएको थियो भने विभिन्न दिनमा तीन शव फेला परेका छन्।

अहिले नेपाली सेनाको नेतृत्वमा कोरियन र चिनियाँ विशेषज्ञसहितको टोलीले सुरुङभित्र २४ घण्टा खोजी गरिरहेको छ। टनेलका केही भागमा ठूलो मात्रामा हिलो नपुगेकाले मानिस सुरक्षित अवस्थामा रहेको हुनसक्ने आशंकामा खोजीलाई तीव्रता दिइएको छ।

त्रिशूली-३ ‘ए’ मा सुरुमा ४२ जना सम्पर्कविहीन थिए। भदौ ११ गते बेलुकादेखि उद्धार सुरु गरिएको थियो। सेनाले आयोजनाको टनेलको मुख पत्ता लगाउन नक्सा र प्राविधिक सहयोग लिएको थियो।

भदौ १२ गते रेकी गरी १३ गतेदेखि उद्धार सुरु गरिएको थियो। इन्धन अभाव र मेसिनले काम नगरेपछि हेलिकप्टरबाट तीन एक्साभेटर तथा अन्य उपकरण पुर्‍याइएको थियो। माथिबाट करिब २५ मिटर खनेपछि टनेल भेटिएको थियो। खोजीका क्रममा दुई जनाको जीवित उद्धार र एक जनाको शव फेला परेको आयोजनाले जनाएको छ।

उद्धारमा नेपाली सेनासँगै चिनियाँ र कोरियन टोलीसमेत परिचालन भएको थियो। त्रिशूली-३ ‘बी’ आयोजनाका सुरुङबाहेक अधिकांश संरचना बाढीले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ। आयोजनाका अनुसार ४० भन्दा बढी कर्मचारी पुरिएको आशंका छ।

भदौ ११ गते उद्धारका लागि गएको सेनाको टोली दलदलका कारण अवतरण गर्न नसकेपछि प्राविधिकको सहयोगमा भदौ १३ गतेदेखि उद्धार प्रयास अघि बढाइएको थियो। चिनियाँ टोलीले पनि सोही दिन रेकी गरेको थियो।

आयोजनाका कर्मचारी किसन अधिकारीले बाढी आउँदा अधिकांश मानिस कार्यालय तथा आवासीय भवनमा रहेको बताए। उनका अनुसार धेरै साथीहरू आँखैअगाडि बाढीमा बगेका थिए। ‘बाढीको सूचना पाएको एकाध मिनेटमै अकल्पनीय अवस्था सिर्जना भयो,’ उनले भने।

हाल नेपाली सेनाका ८९ दक्ष जनशक्ति आयोजनाका प्राविधिकसँगै खोज तथा उद्धारमा खटिएका छन्। जेनेरेटर, कम्प्रेसर र अन्य उपकरण प्रयोग गरी दलदल हटाउँदै अडिट टनेलमा करिब १ दशमलव ७ किलोमिटरभित्र प्रवेश गरिएको छ। त्यहाँ एउटा गाडीसमेत फेला परेको छ।

प्रकाशित: २२ भदौ २०८३ १६:४४ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast