म्याग्दी पहिरो : दुई जनाको शव फेला, दुई जनाको सकुशल उद्धार

हिमाल प्रेस ११ असोज २०८३ १६:०७ | Sunday, September 27, 2026
म्याग्दी पहिरो : दुई जनाको शव फेला, दुई जनाको सकुशल उद्धार

म्याग्दी- निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आइतबार आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ।

अन्नपूर्ण गाउँपालिका-३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरे।

आइतबार बेनी नगरपालिका-३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीयाा कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

मालिका गाउँपालिका-३ औँलामा पहिरोमा पुरिएकाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए।

यसैबीच सडक र पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूर्णका पहिरो प्रभावित ठाउँमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मी टोली पठाउन लागिएको उनले बताए।

अन्नपूर्ण गाउँपालिका-३ दानाको ज्ञानप्रकाश माविका शिक्षक बाबुराम पौडेलका अनुसार फगाममा गंगाबहादुर पाइजाको घर पहिरोले पुरिएको छ।

बिहीबारदेखिको निरन्तरको झरीका कारण म्याग्दीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ। सञ्चार सेवा पनि प्रभावित हुँदा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ।

प्रकाशित: ११ असोज २०८३ १६:०७ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast