बोल्दाबोल्दै माइक छाडेर हिँडे शिक्षामन्त्री पोखरेल

हिमाल प्रेस २७ भदौ २०८३ १८:५९ | Saturday, September 12, 2026
बोल्दाबोल्दै माइक छाडेर हिँडे शिक्षामन्त्री पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सिरहाबाट लखेटिएका छन्। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ परिमार्जनका विषयमा सरोकारवालासँग छलफल गर्न शनिबार सिरहाको औरही गाउँपालिका पुगेका मन्त्री पोखरेल लखेटिएका हुन्।

मन्त्री पोखरेल पोडियममा उभिएर बोल्न थालेपछि विवाद भएको थियो। त्यसपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका थिए। उनीसँग त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शिव यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्रीसमेत रहेका सांसद पुरुषोत्तम यादव पनि कार्यक्रमस्थलबाट बाहिरिएका थिए। हातमा माइक लिएर पोडियमबाट बोल्न थालेका मन्त्री पोखरेल बीचमै  ‘ल ल भयो’ भन्दै त्यहाँबाट हिँडेका थिए।

मन्त्री पोखरेलसँगै हिँड्ने सचिवालयका एक सदस्यले स्थानीयलाई निर्देशन दिन थालेपछि कार्यक्रममा विवाद भएको सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले बताए।

‘पाठ्यक्रमका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो,’ ती नेताले भने,‘ मन्त्रीज्यूसँग हिँड्ने एक जना मान्छे सायद सचिवालयको हुनुहुन्छ, उहाँले निर्देशनात्मक शैलीमा सहभागीहरूसँग कुरा गर्न थाल्नुभयो, त्यसपछि विवाद भएको हो।’

औरही गाउँपालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने विषयमा समेत पूर्वतयारी नगरिएको बताइएको छ। मञ्चमा आसनग्रहण गराउने व्यक्ति, कार्यक्रमका वक्तालगायतका विषयमा समेत पूर्वतयारी गरिएको थिएन।

‘मञ्चमा कसलाई आसनग्रहण गराउने? कार्यक्रमका वक्ताहरू को हुने? यसबारे पूर्वतयारी केही गरिएको थिएन,’ रास्वपाका ती स्थानीय नेता भन्छन्, ‘जिल्ला समन्वय समितिका सभापति दिनेश महतोलाई आमन्त्रित गरिएको थियो। तर उहाँलाई आसनग्रहणसमेत गराइने, लथालिंग तरिकाले कार्यक्रम आयोजना गरेपछि विवाद भयो।’

रास्वपाका ती नेताका अनुसार सभाकक्षको अघिल्लो लाइनमा बसेका औरही गाउँपालिकाका रास्वपा सभापति सन्तोष यादवको मोबाइल मन्त्री पोखरेलको सुरक्षाकर्मीले खोस्न खोजेपछि विवाद थप बढेको थियो।

‘पालिका सभापति सन्तोषजी अगाडिको लाइनमा बस्नुभएको थियो, उहाँ सायद मोबाइलमा भिडियो लिइरहनुभएको थियो,’ उनी भन्छन्, ‘मन्त्रीज्यूको सुरक्षागार्डले उहाँको मोबाइल खोस्न खोजेपछि विवाद थप बढ्यो। अनि मन्त्रीजी कार्यक्रमबाट बाहिरिनुभयो। उहाँले मुस्किलले एक दुई मिनेट बोल्नुभयो।’

मन्त्री पोखरेलसँगै भएका प्रतिनिधिसभा सदस्यहरू शिव यादव र पुरषोत्तम यादवले कार्यक्रमबारे स्थानीय नेता कार्यकर्ताहरूसँग समन्वय नगरेको उनले बताए। ‘मन्त्रीजीको अगाडि पछाडि हिँड्ने सांसदहरूले पनि स्थानीयसँग कार्यक्रमबारे कुनै समन्वय गर्नुभएको थिएन,’ उनी भन्छन्, ‘पाठ्यक्रमजस्तो महत्त्वपूर्ण छलफलका लागि कम्तीमा स्थानीयसँग पहिले नै कुराकानी गर्नुपर्दथ्यो, तर भएन।’

रास्वपा पालिकाका सभापतिको माबाइल खोस्नुका साथै धक्का दिने र समन्वयसमेत नगर्दा अपमानित महसुस गरेपछि रास्वकै कार्यकर्ताहरूले कार्यक्रम सञ्चालन हुन नदिने अडान लिएका थिए।

प्रकाशित: २७ भदौ २०८३ १८:५९ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast