काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले दुई तिहाइको सरकार भाषण र ‘स्टन्ट’मा मात्र सीमित नभई व्यवहारमै जनउत्तरदायी बन्नुपर्ने भन्दै कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने बताए।
वर्तमान सरकारले कर्मचारी संयन्त्रमाथि अनावश्यक नियन्त्रण र दबाब सिर्जना गरी आतंकित पार्ने काम गरेको उनले आरोप लगाए।
उनले भदौ १७ र ३१ गते सर्वोच्च अदालतमा भएको आगलागी, काठमाडौँ जिल्ला अदालतबाट मुद्दाका मिसिलहरू रहस्यमय रूपमा चोरी भएको घटनाको छानबिन गर्न माग गरे। सांसद शाहीले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले अबका भौतिक संरचना जलवायु जोखिमलाई सम्बोधन गर्ने गरी निर्माण गरिनुपर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्यायको माग दृढतापूर्वक राख्नुपर्ने धारणा राखे।
साथै उनले चाडपर्वका बेला महँगी र कालोबजारी रोक्न तथा सुरक्षित यात्राको व्यवस्था मिलाउन माग गरे।
मासिक ४५ देखि ५० हजार मेट्रिक टन एलपी ग्यास माग रहेकोमा पछिल्लो ४ महिनामा २० देखि २५ हजार मेट्रिक टन मात्र आयात भएको भन्दै उनले कूटनीतिक पहल मार्फत आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए।


