काठमाडौँ- कलाकार अशोक दर्जीले आफूलाई कर्म दिने व्यक्ति भन्दै गायक तथा संगीतकार टंक बुढाथोकीलाई विवादमा नतान्न आग्रह गरेका छन्।
बुढाथोकीले हालै एक कार्यक्रममा व्यक्त गरेको भनाइलाई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रस्तुत गरिएको भन्दै दर्जीले त्यस विषयलाई लिएर आफू र बुढाथोकीलाई गाली नगर्न आग्रह गरेका हुन्।
दर्जीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइमा बुढाथोकी आफ्नो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवा भएको उल्लेख गरेका छन्।
आफ्ना सन्तानलाई केही भन्न बुढाथोकीलाई अधिकार रहेको भन्दै उनले भनेका छन्,‘उहाँ मेरो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवा हुनुहुन्छ। आफ्ना सन्तानलाई केही भन्न उहाँलाई छुट छ।’
उनले बुढाथोकीले भिडियोमार्फत व्यक्त गरेको भनाइलाई लिएर उनलाई नराम्रो नबनाइदिन र आफूलाई समेत गाली नगर्न आग्रह गरेका छन्।
अहिले आफू चलचित्र ‘पार्वती’को प्रचार-प्रसारका लागि देशका विभिन्न स्थानमा पुगिरहेको भन्दै दर्जीले उक्त विषयलाई विवाद नबनाउन अनुरोध गरेका छन्।
चलचित्र ‘पार्वती’ चौथो हप्तामा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै उनले चलचित्रलाई माया र साथ दिने दर्शकप्रति आभार व्यक्त गरेका छन्। पूर्वी नेपालमा चलचित्रको प्रचारमा रहेका उनले त्यहाँका दर्शकलाई नजिकैको हलमा गएर ‘पार्वती’ हेर्न आग्रह गरेका छन्।
‘पार्वती’ नहेर्नुभएको छ भने नजिकैको हलमा गएर हेर्नुहोस्। हेर्नुभएको छ भने चलचित्र कस्तो लाग्यो, सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिनुहोस्,’ उनले भनेका छन्।
दर्जीले बुढाथोकीलाई समेत ‘पार्वती’ हेर्न आग्रह गरेका छन्। चलचित्र हेरेर आफू र निता दिदीको काम कस्तो लाग्यो भनेर प्रतिक्रिया दिन आग्रह गर्दै उनले बुढाथोकीलाई भगवान् र गुरुजस्तै मान्ने बताएका छन्।


