चितवन- जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
उनका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उनले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन परेका छन्। जसमध्ये ३०५ को मिलापत्र भएका छन् भने ७१ मुद्दा अदालतमा दर्ता भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए । परेका निवेदनमध्ये पाँच अझै छलफलका क्रममा छन्। आर्थिक वर्ष २०८१/८२ मा ५४२ निवेदन परेका थिए । यसमध्ये ४६९ निवेदन मिलापत्र भएको थियो । ७३ निवेदन मिलापत्र हुन नसकेर अदालतमा गएको दर्ता भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा ४९० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । यसमध्ये ४११ मिलापत्र भएको थियो भने ७९ मुद्दा अदालतमा दर्ता भएका थिए।
सोही समयमा दुई हजार ३०५ ठाडा उजुरी परेका छन्। यसमध्ये जिल्ला प्रहरी कार्यालयमा परेका एक हजार ८७८ वटा र जिल्ला प्रशसान कार्यालयबाट प्राप्त ४२७ ठाडो उजुरी प्राप्त भएको थियो । यसमध्ये दुई हजार १०८ वटा मिलापत्र गरिएको छ । फछ्र्यौट गर्न बाँकी रहेको १९७ उजुरी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। रासस
प्रकाशित: १८ साउन २०८३ १०:१९ | Monday, August 3, 2026
प्रतिक्रिया


