काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक काठमाडौँको वनस्थलीस्थित घण्टी घरमा सुरु भएको छ।
बैठकमा पार्टीका दस्तावेज, संगठनात्मक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुँदैछ।
बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुने कार्यसूची छ।
त्यस्तै, संगठनात्मक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुख मनोनयनका विषयमा निर्णय गरिनेछ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी विषय पनि बैठकको कार्यसूचीमा रहेको छ।
योजना, कार्यक्रम तथा अभियानतर्फ केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल हुनेछ।
त्यसैगरी, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।


