तस्बिर साभार : सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को फेसबुक।
काठमाडौँ- भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपालका बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न ‘सिक्किम फर नेपाल’ (नेपालका लागि सिक्किम) मानवीय पहलको थालनी गरेका छन्। राहत टोलीलाई बिदाइ गर्दै उनले सहयोग अभियान थालेको सिक्किमका सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्।
टोलीमा पाँचजना विशेषज्ञ चिकित्सक, उद्धार स्वयंसेवक र करिब ३०-३२ जना कर्मचारी समावेश छन्। बाढी प्रभावित क्षेत्रका जनतालाई स्वास्थ्य सेवा, उद्धार सहयोग र अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यका साथ टोली नेपालतर्फ प्रस्थान गरेको छ।
टोली औषधि, कपडा र अन्य राहत सामग्रीसहित अत्यावश्यक वस्तुहरू भरिएका तीनवटा ट्रकसहित नेपालतर्फ हिँडेको छ।
टोलीलाई बिदाइ गर्दै मुख्यमन्त्रीले प्रभावित जनताप्रति सिक्किमको सहयोग र ऐक्यबद्धता व्यक्त गरेका छन्।


