युएफसी फाइनलका लागि मर्डोकसँग भिड्दै रवीन्द्र ढाँट

हिमाल प्रेस १२ भदौ २०८३ ८:३५ | Friday, August 28, 2026
युएफसी फाइनलका लागि मर्डोकसँग भिड्दै रवीन्द्र ढाँट

काठमाडौँ- नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रदैछन्।

उनले शुक्रबार रोड टु युएफसी सिजन-५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकविरुद्ध प्रतिस्पर्धा गर्दैछन्।

रवीन्द्र र कासिबबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा चीनको साङ्घाईस्थित अक्टागनमा अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ।

दुवै फाइटरको प्रोफेसनल एमएमए प्रदर्शन उत्कृष्ट रहेकाले आजको प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले हालसम्म बान्टमवेट विधामा १० खेल खेलेका छन्। उनले ९ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजय व्यहोरेका छन्।

रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट-१७ को उपाधि जितेपछि रवीन्द्र अझ चर्चित बने। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए।

यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।

रवीन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन-५ को क्वार्टरफाइनलमा निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

यससँगै रवीन्द्र रोड टु युएफसी सिजन-५ को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। उनीसामु आज थप इतिहास रच्ने अवसर छ।

यदि कासिब मर्डोकलाई पराजित गर्न सके रवीन्द्र रोड टु युएफसी सिजन-५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन्।

उता, मर्डोक पनि अपराजित यात्रालाई निरन्तरता दिँदै इतिहास रच्ने सङ्घारमा छन्। उनको एमएमए करिअर पनि उत्कृष्ट छ। उनले हालसम्म कुनै पनि खेलमा पराजय व्यहोरेका छैनन्।

मर्डोकले गत मे महिनामा रोड टु युएफसी सिजन-५ को क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै रवीन्द्रसँगको भेट पक्का गरेका थिए।

रवीन्द्र आजको प्रतिस्पर्धा जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ अक्टागनमा उत्रनेछन्। यदि उनले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।

प्रकाशित: १२ भदौ २०८३ ८:३५ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast