काठमाडौँ- विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको छ।
पुर्जा संस्थापक रहेको संस्था ‘इलाइट एक्सपेड’ ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जनाएको हो।
‘आज हामी अत्यन्तै दुःखी र भावविह्वल भई यो पुष्टि गर्दछौँ कि निर्मल ‘निम्सदाइ’ पुर्जाले ब्रड पिकमा आएको हिमपहिरोका कारण दुखद रूपमा ज्यान गुमाउनुभएको छ। यस अभियानका अन्य सदस्यहरूको पनि दुखद निधन भएको जानकारी हामीले प्राप्त गरेका छौँ,’ इलाइट एक्सपेडले सामाजिक सञ्जालमा लेखेको छ।
पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परी उनीसहित १० जना बेपत्ता भएका थिए। बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। चार जनाको शव शुक्रबार फेला परेको थियो।
पाकिस्तानको कराकोरम हिमशृंखलामा अवस्थत ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार हिमपहिरो गएको थियो।
पुर्जाले टोलीको नेतृत्व गरेका थिए। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ मात्र ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।


