फाइल तस्बिर
काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका धेरै ठाउँमा पानी परेको छ । कतिपय स्थानमा ‘धेरै भारी’सम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार (साउन २१) दिउँसो १२ः३० बजे गरिएको मापनमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा १२५.३ मिलिमिटर परेको महाशाखाले जनाएको छ।
‘गएको २४ घण्टामा देशका धेरै ठाउँमा पानी परेको छ,’ महाशाखाले भनेको छ, ‘सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा १२५.३ मिलिमिटर परेको छ।’ हाल देशभर मनसुनी वायुको प्रभाव छ । “हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ,’ महाशाखाले भनेको छ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ। कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति’ भारी वर्षा भनिने महाशाखाले जनाएको छ।


