फिल्म

मन छुने ‘कमला मिस’

हिमाल प्रेस २५ साउन २०८३ १७:३० | Monday, August 10, 2026
12
SHARES
मन छुने ‘कमला मिस’

काठमाडौँ- फिल्म हेर्न लायक हुन सधैँ मायाप्रेम, बाह्य द्वन्द्व, षड्यन्त्र, तानातान र गीतसंगीतको मसलेदार संयोजन आवश्यक पर्दैन। कहिलेकाहीँ एउटा सरल कथा, मानवीय संवेदना र पात्रको मनोवैज्ञानिक उतारचढावले पनि दर्शकलाई पर्दासँग जोडेर राख्न सक्छ।

‘कमला मिस’ यस्तै फिल्म हो, जसले बालमनोविज्ञानलाई कथाको केन्द्रमा राख्दै एउटा बालकको व्यवहार, उसको मनभित्रको पीडा र मायास्नेहले जीवनमा पार्न सक्ने परिवर्तनलाई प्रस्तुत गर्छ।

नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’बाट प्रेरित ‘कमला मिस’ को कथा एउटा टुहुरो बालक ध्रुव वरिपरि घुम्छ। बालकलाई काँचो माटोसँग तुलना गरिन्छ- जसरी काँचो माटोलाई आफूले चाहेजस्तो आकार दिन सकिन्छ, त्यसैगरी बालमनलाई पनि माया, स्नेह, उचित मार्गदर्शन र वातावरणले आकार दिन्छ।

ध्रुव कक्षामा ध्यान दिएर पढ्दैन, अरू विद्यार्थीमाथि जाइलाग्छ र विद्यालयमा बदमास विद्यार्थीका रूपमा चिनिन्छ। उसको व्यवहारलाई अनुशासनहीनता वा खराब स्वभावका रूपमा हेर्न सकिन्छ, तर फिल्मले त्यसको पछाडिको मनोवैज्ञानिक कारण खोज्छ। आमाको माया र स्नेहबाट वञ्चित बालमनमा हुर्किएको अभाव, एक्लोपन र असुरक्षाले उसको व्यवहारलाई कसरी प्रभावित गरिरहेको छ भन्ने पक्षलाई फिल्मले बिस्तारै उजागर गर्छ।

यहीँबाट ‘कमला मिस’ सामान्य बालकको कथा मात्र रहँदैन। यो बालमनभित्र लुकेको पीडा बुझ्ने प्रयास बन्न पुग्छ। बालबालिकाको व्यवहारलाई बाहिरी गतिविधिका आधारमा मात्र मूल्यांकन गर्नुको सट्टा त्यसको पछाडि रहेका भावनात्मक कारण खोतल्नुपर्ने सन्देश फिल्मले दिन्छ।

ध्रुवको जीवनमा आमाको खोजी पनि कथाको महत्त्वपूर्ण पक्ष हो। मातृस्नेहबाट वञ्चित बालकले आमाको उपस्थिति र मायाको खोजी गर्नु स्वाभाविक मानवीय चाहना हो। उसले माया र स्नेह प्राप्त गरेपछि उसको व्यवहारमा आउने सकारात्मक परिवर्तनले बालबालिकाको जीवनमा पारिवारिक वातावरण र भावनात्मक सुरक्षाको महत्त्व देखाउँछ।

फिल्मले ध्रुवको कथासँगै एक महिलाले आफ्नो जीवनमा भोग्नुपरेका संघर्षलाई पनि पर्दामा ल्याएको छ। यसले कथालाई बालमनोविज्ञानमा मात्र सीमित नराखी महिला जीवनका संघर्ष र मानवीय सम्बन्धका विभिन्न पाटोतर्फ पनि विस्तार गर्छ।

‘कमला मिस’को अर्को विशेषता यसको साहित्यिक आधार हो। नाटक ‘कोही किन बर्बाद होस्’को कथ्य र भावभूमिबाट प्रेरित भएकाले फिल्ममा साहित्यिक संवेदनाको प्रभाव देखिन्छ। रंगमञ्च र साहित्यको प्रभावलाई चलचित्रका माध्यममा रूपान्तरण गर्ने प्रयास यसको महत्त्वपूर्ण पक्ष हो।

फिल्मका निर्देशक नीर शाह आफैँ पनि अभिनयमा देखिएका छन्। उनीसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्णमुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारले अभिनय गरेका छन्। कलाकारहरूको अभिनयमार्फत कथाका भावनात्मक पक्षलाई जीवन्त बनाउने प्रयास गरिएको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता चैतन्यप्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई हुन्।

कमला मिस’ ठूलो द्वन्द्व, रहस्य वा मनोरञ्जनको खोजी गर्ने दर्शकका लागि भन्दा बालमन बुझ्न चाहने र मानवीय संवेदनाको कथा हेर्न रुचाउने दर्शकका लागि बढी अर्थपूर्ण फिल्म हो। फिल्मले एउटा सरल प्रश्न उठाउँछ- बच्चा साँच्चै बदमास हुन्छ कि उसको व्यवहारभित्र कुनै नबोलेको पीडा लुकेको हुन्छ?

यही प्रश्नको उत्तर खोज्ने क्रममा ‘कमला मिस’को वास्तविक अर्थ खुल्दै जान्छ। बच्चालाई बदल्न सजायभन्दा पहिले माया, अनुशासनभन्दा पहिले बुझाइ र व्यवहार सुधार्नुभन्दा पहिले उसको मनभित्र पस्ने प्रयास आवश्यक हुन्छ भन्ने सन्देश फिल्मको सबैभन्दा बलियो पक्ष हो। फिल्म साउन २२ गतेदेखि देभरका हलहरूमा प्रदर्शन भइरहेको छ।

प्रकाशित: २५ साउन २०८३ १७:३० | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast