संसद् बैठक। फाइल तस्बिर।
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुनसरीसहित तराई-मधेशका घटनाको निष्पक्ष छानबिन, सरकारी अस्पतालमा रेविज खोपको अभाव, पहिरो, दुर्घटना तथा सुरक्षाकर्मीका सुविधालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद भरतबहादुर खड्काले सुनसरीसहित तराई-मधेशमा भएका घटनाबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने र निष्पक्ष न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताए। यस्ता घटना दोहोरिन नदिन सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने सुझाव पनि उनले दिए।
सांसद अमरेशकुमार सिंहले सुनसरी घटनाको समाधानमा प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेले खेलेको भूमिकाको प्रशंसा गर्दै तराई-मधेशका आन्दोलनमा गोली चलाउने प्रवृत्ति रोक्नुपर्ने बताए।
सांसद शिवशंकर यादवले पीडित परिवारलाई न्याय दिलाउने सरकारी प्रयासको प्रशंसा गर्दै बाध्यकारी अवस्था नआई सुरक्षाकर्मीले गोली चलाउन नहुने बताए।
सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारी अस्पतालमा रेविज खोप अभाव हुँदा बजारमा सहजै उपलब्ध हुने अवस्थाको अनुगमन गर्न सरकारसँग आग्रह गरिन्। खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न पनि उनले माग गरिन्।
सांसद प्रेमलाल चौधरीले इलामको माई क्षेत्रलगायत स्थानमा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै वर्षभरि सुरक्षित यातायात व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए।
सांसद अम्बिकादेवी सङ्ग्रौलाले बर्दियामा भएको बस दुर्घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै न्याय दिलाउन सरकारसँग माग गरिन्।
सांसद अङ्किता ठाकुरले सीमामा खटिने सुरक्षाकर्मीको सुविधा समयानुकूल वृद्धि गर्नुपर्ने र सरकारी अस्पतालमा रेविज खोप तत्काल उपलब्ध गराउनुपर्ने बताइन्।
सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पूर्जा ‘निम्स दाई’सहित आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई राष्ट्रिय विभूतिका रूपमा स्मरण गर्नुपर्ने उनले भनिन्।


