कास्की- अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाउनुका साथै अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन्।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार आज राति करिब २:१५ बजे अन्नपूर्ण गाउँपालिका-५ र ६ को सीमामा पर्ने नयाँपुल-बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको हो।
बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीका कारण मन्दिरमा एक जना सन्तपुजारी र दुई जना भक्तजन गरी तीन जना फसेको खबर प्राप्त भएपछि उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ। आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई राति २:३५ बजे घटनास्थलतर्फ खटाइएको डीएसपी थापाले बताए।
उद्धार टोलीले जोखिमका बीच मन्दिरमा फसेका तीनै जनालाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी राखेको छ। बाढीका कारण पुल तथा मन्दिरमा भएको क्षतिको थप विवरण आउन बाँकी छ।


