काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा बाढीको संकटपछि सरकारले सहयोग रकमका लागि अनुरोध गरेको छ। स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुन थालिसकेको छ।
हालसम्म केही देश, व्यक्ति तथा संस्थाले सहयोग गरिसकेको अवस्था छ भने केहीले सहयोगको प्रतिबद्धता स्वरूप रकम घोषणा गरिसकेका छन्। अर्थमन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ । यो रकम अनुदान हुने जनाइएको छ ।
विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरुप १६७ मिलियन अमेरिकी डलरको घोषणा गरेको छ । यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेको छ भने अष्ट्रेलियाको सरकारले १ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
एशियाली विकास बैंकले प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग रकम उपलब्ध गराउने भएको छ । भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ । चीन र अमेरिकाले गर्ने मानवीय सहायता वापत शनिबारसम्म सहयोग उपलब्ध गराउने छन् ।
अर्थ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रका लागि चीन सरकारले ३० बेलीबिज्र सहयोग गर्ने घोषणा गरेको छ । साथै चीनले दुई हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ पनि सहयोग गर्नेछ । स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्रयाङ संयुक्त राष्ट्र संघको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसी)ले भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख (२२ हजार ९१२ लाख अमेरिकी डलर) सहयोग गर्ने जनाएको छ ।
रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ ।
आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए।आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भनेका छन्, ‘आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्त जारी रहन्छ ।’


