काठमाडौँ- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिरनजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर जारी छ।
बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायत सुरक्षानिकायका प्रमुख आफैँ फिल्डमा खटिएका छन्।
बुधबार साँझ करिब साढे ६ बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए।
सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खोजी गरे पनि नभेटिएपछि थप सुरक्षा टोलीसहित सुनकोशीमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले र्यापबोट र ड्रोन क्यामेराबाट खोजी जारी राखेको छ। साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


