गोठाटारमा विद्युत् सर्ट भएर आगलागी हँदा १४ सटर जले, एक घाइते

हिमाल प्रेस १७ साउन २०८३ ६:३६ | Sunday, August 2, 2026
14
SHARES
गोठाटारमा विद्युत् सर्ट भएर आगलागी हँदा १४ सटर जले, एक घाइते

काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ गोठाटारस्थित पहेँलो पुल नजिकै गएराति भीषण आगलागी भएको छ। रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरहरूमा विद्युत सर्ट (करेन्ट सर्ट) भई आगलागी भएको हो ।

राति करिब ९:१५ बजे सुरु भएको आगो झण्डै दुई घण्टापछि राति ११:०० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको ठूलो टोली परिचालन गरिएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी उपरीक्षक दान बहादुर थापाको कमाण्डमा १०० जना, विपद् व्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी बल सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षक हेराम कुँवरको कमाण्डमा ५० जना गरी कुल १७५ जना सुरक्षाकर्मी खटिएका थिए । आगो निभाउन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्करको प्रयोग गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार निवासी ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । टहराको जस्तापाताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूलपानीमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई सुन्धारास्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । उनको अवस्था मध्यम रहेको र बाहिरी चोट नदेखिएको प्रहरीले बताएको छ ।

आगलागीबाट १४ वटा विभिन्न व्यवसाय सञ्चालित सटरहरूमा क्षति पुगेको छ । ओम काष्ठ मिल उद्योग, रिकन्डिसन एण्ड हेल्मेट पसल, बासु फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर पसल, मिठाई पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसल, चटपटे एण्ड किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलमा क्षति पुगेकाे हाे ।

आगलागीबाट भएको कुल क्षतिको विस्तृत विवरण मुचुल्का संकलनपछि मात्र आउने प्रहरीले जनाएको छ ।

 

प्रकाशित: १७ साउन २०८३ ६:३६ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast