विश्वकपमा ६४ टोली सहभागी गराउने ‘फिफाको प्रस्ताव’ मा कसले के भने?

हिमाल प्रेस २९ असार २०८३ १०:५५ | Monday, July 13, 2026
8
SHARES
विश्वकपमा ६४ टोली सहभागी गराउने ‘फिफाको प्रस्ताव’ मा कसले के भने? फिफा विश्वकप ट्रफी। तस्बिर : अनस्प्लास

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष फुटबल विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने प्रस्तावबारे २०२६ विश्वकप सम्पन्न भएपछि समीक्षा गरिने बताएका छन्। उनका अनुसार विश्वकप सम्पूर्ण विश्वका लागि हुनुपर्छ।

गत वर्ष ६४ टोलीको विश्वकपको प्रस्ताव अघि सारिएको थियो। इन्फान्टिनोले ४८ टोली सहभागी हुने नयाँ ढाँचाको सफलतापछि फिफाले ६४ टोलीको विश्वकप कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने बताए।

स्विस प्रसारक ब्लु स्पोर्टसँगको अन्तर्वार्तामा उनले भने,‘यी सबै विषयहरू विश्वकपपछि समीक्षा गरिनेछन्।’

उनले थपे,‘विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकाका लागि होइन सम्पूर्ण विश्वका लागि हुनुपर्छ। प्रत्येक राष्ट्रले विश्वकपमा सहभागी हुने सपना देख्न पाउनुपर्छ।’

इन्फान्टिनोका अनुसार विश्वभरका टोलीहरूको स्तर निरन्तर उकासिँदै गएको छ। यदि साना राष्ट्रहरूलाई विश्वकपमा सहभागी हुने अवसर नदिइए उनीहरूमा अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा घट्नेछ।

उनले पहिलो पटक ४८ टोली सहभागी भएको विश्वकपलाई अत्यन्त सफल भन्दै अफ्रिकाबाट सहभागी १० मध्ये ९ टोली नकआउट चरणमा पुगेको उदाहरण प्रस्तुत गरे।

‘अघिल्लो विश्वकपमा अफ्रिकाबाट केवल पाँच टोली सहभागी थिए,’ उनले भने,‘यसले सबै टोलीलाई अवसर दिनु किन महत्त्वपूर्ण छ भन्ने स्पष्ट देखाउँछ।’

फिफा परिषद्ले सन् २०१७ मा विश्वकपलाई ३२ टोलीबाट ४८ टोलीमा विस्तार गर्ने निर्णय गरेको थियो।

२०३० विश्वकपलाई ६४ टोली बनाउने प्रस्ताव

दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले अप्रिल २०२५ मा सन् २०३० को विश्वकप ६४ टोलीको बनाउने औपचारिक प्रस्ताव पेश गरेको थियो। तर यसबारे अहिलेसम्म कुनै अन्तिम निर्णय भएको छैन।

सन् २०३० को विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिताको शतवार्षिकीको अवसरमा उद्घाटनका तीन खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा खेलाइनेछन्। पहिलो विश्वकप सन् १९३० मा उरुग्वेले आयोजना गरेको थियो।

प्रस्तावप्रति विरोध

युरोपेली फुटबल महासंघ (यूईएफए) का अध्यक्ष अलेक्जान्डर चेफेरिनले ६४ टोलीको प्रस्तावलाई खराब विचार भन्दै अस्वीकार गरेका छन्। उनका अनुसार यसले विश्वकप र छनोट प्रतियोगिता दुवैलाई असर पार्नेछ।

एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि थप विस्तारले अव्यवस्था निम्त्याउने चेतावनी दिएका छन्।

उत्तर तथा मध्य अमेरिका र क्यारिबियन फुटबल महासंघ (कन्काकाफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानीले पनि यस्तो विस्तार उपयुक्त नदेखिएको भन्दै यसले विश्व फुटबलको समग्र संरचनामा नकारात्मक असर पार्ने बताएका छन्।

यद्यपि अमेरिकी ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले संयुक्त राज्य अमेरिकाले सन् २०३८ को विश्वकप आयोजना गर्न इच्छुक हुन सक्ने र प्रतियोगिता ६४ टोलीको भए पनि त्यसलाई सफलतापूर्वक आयोजना गर्न सक्ने बताएका छन्।

बीबीसीको भनाइमा फिफाको आधिकारिक धारणा भने सबै सरोकारवालासँग छलफल गरेर आउने प्रस्तावहरूको अध्ययन गर्ने रहेको छ। अन्तिम निर्णय फिफा परिषद्ले गर्ने भए पनि तत्काल यस्तो निर्णय हुने संकेत भने देखिएको छैन।

विस्तारले आयोजक राष्ट्रहरूलाई चुनौती

फुटबल मामिलाका विश्लेषक डेल जोन्सनका अनुसार जियानी इन्फान्टिनो सन् २०१६ मा फिफा अध्यक्ष निर्वाचित हुँदा उनको घोषणापत्रमा विश्वकपलाई ३२ बाट ४० टोलीमा विस्तार गर्ने योजना थियो। तर एक वर्ष नबित्दै त्यो संख्या ४८ पुग्यो र सन् २०२६ देखि लागू हुने गरी स्वीकृत गरियो।

त्यसयता फिफाले अझ ठूलो विश्वकपको योजना बनाइरहेको चर्चा निरन्तर चलिरहेको छ। सन् २०२२ कै विश्वकपलाई ४८ टोलीको बनाउने विषयमा पनि छलफल भएको थियो। तर कतारले एक्लैले त्यति ठूलो प्रतियोगिता आयोजना गर्न नसक्ने निष्कर्ष निकालिएको थियो। विश्वकप जति ठूलो हुँदै जान्छ, त्यसको आयोजना त्यति नै जटिल बन्दै जान्छ।

सन् २०२६ को विश्वकप तीन देशमा आयोजना हुँदैछ भने सन् २०३० मा ६ देशमा खेलहरू सञ्चालन हुनेछन्। सन् २०३४ मा साउदी अरेबियाले ६४ टोली र १२८ खेल समेटिएको विश्वकप कसरी व्यवस्थापन गर्ने भन्ने विषय अझै स्पष्ट छैन।

तर यस्तो विस्तार इन्फान्टिनोका लागि दुई कारणले लोकप्रिय हुन सक्छ। पहिलो, यसबाट धेरै देशले विश्वकपमा सहभागी हुने अवसर पाउनेछन्। ६४ टोलीको विश्वकप भए फिफासँग आबद्ध २११ राष्ट्रमध्ये करिब एकतिहाइ राष्ट्र विश्वकपमा छनोट हुन सक्नेछन्।

दोस्रो, विश्वकप ठूलो हुँदा प्रतियोगिताबाट हुने आम्दानी पनि बढ्नेछ जसलाई फिफाले आफ्ना सदस्य राष्ट्रहरूबीच थप व्यापक रूपमा वितरण गर्न सक्नेछ।

प्रकाशित: २९ असार २०८३ १०:५५ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast