विद्युत् सर्ट हुँदा बिर्तामोडमा भीषण आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

हिमाल प्रेस १४ साउन २०८३ ९:३१ | Thursday, July 30, 2026
6
SHARES
विद्युत् सर्ट हुँदा बिर्तामोडमा भीषण आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

काठमाडौँ- झापाको बिर्तामोड नगरपालिका ५ पुरानो भद्रपुर रोडमा बिहीबार साँझ भएको भीषण आगलागीमा तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ करिब ४:१५ बजे गणेश पोखरेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डमा १० जना प्रहरी तथा शनिश्चरे बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक सोबित श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो। आगो फैलिँदै नजिकका अन्य घरमा समेत सल्किएपछि आगलागी साँझ ५:४० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा आगलागी विद्युत् सर्टका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ।

आगलागीबाट गणेश पोखरेलको टिनको छानो भएको काठको दुईतले घर, तारा अर्यालको एकतले घर र सुन्दर राजवंशीको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। त्यस्तै भरत पोखरेलको एकतले घर, शारदा राजवंशीको दुईतले पक्की घर तथा दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा आंशिक क्षति पुगेको छ।

घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।

प्रकाशित: १४ साउन २०८३ ९:३१ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast