काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले शिक्षक आन्दोलन आवश्यक भए पनि शिक्षकलाई सडकमा दुःख दिएर, समन्वयबिना नेतृत्व प्रदर्शन गर्ने शैली स्वीकार्य नहुने बताएका छन्।
सरकारले शिक्षकसँग विभिन्न समयमा गरेका सहमति सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले त्यसका लागि निकट भविष्यमै आन्दोलन अपरिहार्य रहेको अभिव्यक्ति दिइरहेका बेला भट्टाईले आन्दोलनलाई प्रभावकारी बनाउन डिजिटल माध्यमको उपयोग गर्दै सरोकारवालाहरू, आन्दोलनरत पक्ष र सरकारलाई तत्काल वार्ताको टेबलमा ल्याउनुपर्ने धारणा राखे। भट्टराईको भनाइमा वार्ता प्रक्रिया पारदर्शी बनाउन प्रत्यक्ष प्रसारणसमेत गर्न सकिन्छ।
भट्टराईले शुक्रबार भने,‘शिक्षक आन्दोलन जरुरी छ। तर रोडमा शिक्षकलाई दुःख दिएर नेतागिरि गर्ने, समन्वयबिना ठूला कुरा गर्ने होइन। डिजिटल आन्दोलनसहित सरोकारवालालाई, आन्दोलनरत पक्ष र सरकारलाई तत्काल टेबलमा राखेर वार्ता गर्नुपर्छ, त्यसलाई प्रत्यक्ष प्रसारणसमेत गर्न सकिन्छ।’
आन्दोलनका नाममा शिक्षकबाट पैसा उठाउने र उनीहरूलाई सडकमा उतारेर त्यसैमा गर्व गर्ने नेतृत्वको उनले आलोचना गरे। ‘नेतृत्व शिक्षकलाई दुःख दिएर, शिक्षकसँग आन्दोलनका नाममा पैसा उठाएर र शिक्षकलाई रोडमा उतारेर गर्व गर्ने कदापि हुनुहुँदैन। असल नेतृत्वले आफैँ दुःख गर्छ, आफैँ बलिदान दिन्छ,’ उनले भने।
आन्दोलनप्रति नेतृत्वको प्रतिबद्धता व्यवहारमा पनि देखिनुपर्ने उनको भनाइ छ। ‘दिलैदेखि आन्दोलन गरेको भए आमरण अनशनसमेत बस्न सक्ने हिम्मत हुनुपर्छ,’ भट्टाईले भने।
शिक्षक भट्टराईले असल नेतृत्व व्यक्तिगत वा सीमित समूहको हितभन्दा समग्र शिक्षक समुदायको माग सम्बोधनमा केन्द्रित हुनुपर्ने बताए। ‘असल नेतृत्व आफूलाई भन्दा ठूलो समूहको माग सम्बोधनमा तल्लीन हुन्छ। २० जना विशिष्ट श्रेणीका शिक्षकका लागि होइन, आवश्यक परे दुई लाख शिक्षकको आवधिक बढुवाका लागि लड्नुपर्ने दूरदर्शिता नेतृत्वमा हुनुपर्छ,’ उनले भने।
शिक्षक सरुवाको प्रक्रिया जटिल बनाइएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। ‘शिक्षक सरुवा प्रक्रिया जटिल बनाउनु भनेको राज्य शिक्षकप्रति अनुदार भएको स्पष्ट संकेत हो। यसप्रति मेरो पूर्ण असहमति छ र यसको विरुद्ध अब हरेक लडाइँ लडिन्छ,’ भट्टराईले चेतावनी दिए।



