इटहरी- सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिँदै जिल्लामा कुनै पनि मानवीय वा भौतिक क्षति हुन नदिन प्रशासनको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन्।
उनले प्रशासनको पहिलो प्राथमिकता जनधनको सुरक्षा रहेको स्पष्ट गर्दै अवस्था थप जटिल नबनोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमा कर्फ्यु, निषेधाज्ञा तथा सुरक्षा परिचालनलाई आवश्यकताअनुसार सञ्चालन गरिएको बताए।
प्रजिअ अर्यालका अनुसार जिल्ला सुरक्षा समितिका सदस्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितका सुरक्षा निकाय बिहानैदेखि संयुक्त रूपमा परिचालन भएर शान्ति सुरक्षा कायम गर्न, संवेदनशील क्षेत्रको निगरानी बढाउन तथा स्थानीय तहसँग समन्वय गरिरहेका छन्।
उनले सुरुआतमा राजमार्ग क्षेत्रमा लगाइएको निषेधाज्ञा केही खुकुलो पारिएको भए पनि केही स्थानमा समूहमा भेला हुने र प्रदर्शनका गतिविधि देखिएपछि कर्फ्यु तथा सुरक्षा व्यवस्था पुनः कडा बनाइएको जानकारी दिए।
‘बल प्रयोग गर्दा थप मानवीय क्षति हुन सक्ने सम्भावना भएकाले हामी संयमित ढंगले परिस्थिति व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो उद्देश्य कुनै पनि नागरिकलाई क्षति हुन नदिनु हो।’
अर्यालले प्रशासनले बिहानदेखि दुवै पक्षका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सरोकारवालासँग निरन्तर संवाद र छलफल गरिरहेको जानकारी दिँदै वार्ता र सहमतिमार्फत अवस्था सामान्य बनाउने प्रयास जारी रहेको बताए।
उनले सामाजिक सञ्जालमा अफवाह, भ्रामक सूचना वा उत्तेजनात्मक सामग्री नफैलाउन सबैसँग आग्रह गर्दै यस्ता गतिविधिले सामाजिक सद्भाव कमजोर बनाउने र परिस्थितिलाई थप जटिल बनाउन सक्ने भएकाले संयमता अपनाउन आग्रह गरे।
‘आपसी द्वन्द्वले कसैको हित गर्दैन। सबैले संयमता अपनाएर शान्ति, सद्भाव र कानुनी व्यवस्थालाई सहयोग गर्न आवश्यक छ,’ उनले भने।


