संसद् मार्च हिंसापछि दिल्लीमा सुरक्षा कडा

हिमाल प्रेस ६ साउन २०८३ ११:०९ | Wednesday, July 22, 2026
20
SHARES
संसद् मार्च हिंसापछि दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली- दिल्लीको जन्तरमन्तरमा ककरोच जनता पार्टीको प्रदर्शन बुधबार ३३औँ दिनमा प्रवेश गरेको छ।

बुधबार बिहानदेखि हजारौं प्रदर्शनकारी जन्तरमन्तरमा भेला भएका छन्। उनीहरूमध्ये साेमबार संसद् मार्चका क्रममा प्रहरीको लाठीचार्ज र अश्रुग्यासको सामना गरेका प्रदर्शनकारी पनि छन्।

यसैबीच, दिल्ली प्रहरीले साेमबार संसद् मार्चका क्रममा भएको हिंसासम्बन्धी घटनामा १० वटा एफआईआर दर्ता गरेको छ।

तीमध्ये संसद् मार्ग प्रहरी थानामा ४, कनट प्लेसमा ३ तथा मन्दिर मार्ग, बाराखम्बा रोड र कर्तव्य पथ प्रहरी थानामा एक–एक वटा एफआईआर दर्ता भएका छन्।

प्रदर्शनकारीमाथि आरएएफ (र्यापिड एक्सन फोर्स) का जवानमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको, ढुंगामुढा गरेको, तोडफोड गरेको तथा सरकारी कामकाजमा अवरोध पुर्‍याएको आरोप लगाइएको छ।

स्रोतका अनुसार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले मंगलबार राति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा सोनम वाङ्चुकसँग भेट गरेका छन्।

वाङ्चुक गत महिनादेखि अनशनमा छन्। दिल्ली उच्च अदालतको निर्देशनपछि उनलाई मंगलबार सफदरजंग अस्पतालबाट मेदान्तामा भर्ना गरिएको हो।

केन्द्र सरकारले पश्चिम बंगालबाट सीआरपीएफका २० अतिरिक्त कम्पनीलाई दिल्लीमा परिचालन गर्ने आदेश दिएको छ।

एउटा सीआरपीएफ कम्पनीमा करिब १०० जवान रहने भएकाले करिब २ हजार जवानलाई कोलकाताबाट हवाईमार्ग हुँदै दिल्ली ल्याइँदैछ।

गृह मन्त्रालयको निर्देशनअनुसार यी सुरक्षाकर्मीलाई संसद्को मनसुन अधिवेशन र दिल्लीको शान्तिसुरक्षा कायम राख्न तैनाथ गरिनेछ।

यसअघि पनि केन्द्र सरकारले दिल्ली प्रहरीलाई सहयोग गर्न सीआरपीएफ तथा यसको दंगा नियन्त्रण इकाई आरएएफका करिब ३० कम्पनी परिचालन गरिसकेको छ।

यी सुरक्षाबल साेमबारदेखि सुरु भएको संसद्को बर्खे अधिवेशन र ककरोच जनता पार्टीको आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थामा खटिएका छन्।

प्रकाशित: ६ साउन २०८३ ११:०९ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast