साना नदीमा आकस्मिक बाढीको सम्भावना

हिमाल प्रेस २६ असार २०८३ ११:२८ | Friday, July 10, 2026
4
SHARES
साना नदीमा आकस्मिक बाढीको सम्भावना काठमाडौँको बागमती नदीमा शनिबार आएको बाढी।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य बढ्ने तथा विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको जनाएको छ।

शुक्रबार जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू साथै कन्काई, कमला, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहनेछ। यद्यपि यी नदीहरूको जलसतह आगामी तीन दिनसम्म उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार शुक्रबार इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुपाल्चोक लगायत आसपासका जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहनेछ।

त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, बर्दिया लगायतका जिल्लाका केही साना नदीमा पनि फ्ल्यास फ्लडको मध्यम सम्भावना रहेको जनाइएको छ।

भोलि शनिबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै पर्सि आइतबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साना नदीमा बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी आसपासका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई नदीको सतह र मौसमको अवस्थाबारे नियमित जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २६ असार २०८३ ११:२८ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast