इलाम- इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रको भौतिक पूर्वाधार, मातृभाषा शिक्षाको विस्तार तथा प्रविधिमैत्री सिकाइलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको छ।
यस वर्ष संघीय सरकारको रु १ करोड २० लाख बजेटबाट गाउँपालिकाका छ सामुदायिक विद्यालयमा तीन-कोठे एकतले पक्की भवन निर्माण सम्पन्न भएका छन्। शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार प्रत्येक विद्यालयमा रु २० लाखको लागतमा भवन निर्माण गरिएको हो।
नयाँ भवन पाउने विद्यालयमा माङसेबुङ-१ का वरभञ्ज्याङ र मण्डिका आधारभूत विद्यालय, माङसेबुङ-२ को इभाङ आधारभूत विद्यालय, माङसेबुङ-३ को जनकल्याण आधारभूत विद्यालय, माङसेबुङ-४ को सरस्वती आधारभूत विद्यालय तथा माङसेबुङ-६ को चन्द्रेश्वरी आधारभूत विद्यालय रहेका छन्।
विद्यालयका प्रधानाध्यापकहरूले नयाँ भवन निर्माणसँगै विद्यार्थीले सुरक्षित, व्यवस्थित र गुणस्तरीय वातावरणमा अध्ययन गर्न पाएको बताएका छन्। वरभञ्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर लिम्बूका अनुसार जीर्ण भवनमा अध्ययन गर्नुपर्ने अवस्था अन्त्य भई शिक्षकलाई समेत पठनपाठन सञ्चालन गर्न सहज भएको छ।
इभाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक पम्फादेवी पुलामीले भवन अभावका कारण बाँसको टाटीले बारिएका कक्षामा पढाउनुपर्ने बाध्यता हटेको बताउँदै नयाँ संरचनाले शिक्षण-सिकाइ थप प्रभावकारी बनेको उल्लेख गरिन्।
यसैबीच, कोशी प्रदेश सरकारको रु ७ लाख सहयोगमा माङसेबुङ-४ स्थित सरस्वती आधारभूत विद्यालयमा चार कोठे आधुनिक शौचालय पनि निर्माण गरिएको छ। विद्यालयका प्रधानाध्यापक दाताराम खनालका अनुसार यसले विशेषगरी साना कक्षाका विद्यार्थीलाई सहजता दिएको छ भने विद्यालयको सरसफाइ र विद्यार्थीमैत्री वातावरण पनि सुधारिएको छ।
मातृभाषा शिक्षामा थप विस्तार
माङसेबुङ गाउँपालिकाले यस वर्षदेखि मातृभाषा शिक्षालाई थप सुदृढ बनाउने उद्देश्यले तीन विद्यालयमा लिम्बू भाषा र तीन विद्यालयमा वान्तवा भाषा शिक्षकको दरबन्दी व्यवस्था गरेको छ। सम्बन्धित समुदायको बाहुल्यता रहेका विद्यालयमा गाउँपालिकाले आफ्नै स्रोतबाट शिक्षकको तलब-भत्ता व्यवस्थापन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको हो।
लिम्बू भाषा शिक्षक माङसेबुङ-१ का गजुरमुखी र मण्डिका आधारभूत विद्यालय तथा माङसेबुङ-३ को दुर्गा माध्यमिक विद्यालयमा नियुक्त गरिएका छन्। त्यसैगरी वान्तवा भाषा शिक्षक माङसेबुङ-२ को सरस्वती, माङसेबुङ-४ को जनता र माङसेबुङ-६ को सिंहेश्वरी आधारभूत विद्यालयमा व्यवस्था गरिएको छ।
गाउँपालिकाले यसअघि नै कक्षा १ देखि ५ सम्मका लागि लिम्बू भाषा पाठ्यक्रम तयार गरी चार विद्यालयमा पठनपाठन सञ्चालन गर्दै आएको छ भने चिसोपानी माध्यमिक विद्यालयमा वान्तवा भाषा पनि अध्यापन भइरहेको छ।
प्रविधिमैत्री शिक्षामा जोड
शिक्षण प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउन गाउँपालिकाले ११ वटा विद्यालयमा स्मार्ट टिभी वितरण गरेको जनाएको छ। डिजिटल सामग्रीको प्रयोगबाट विद्यार्थीको सिकाइ अनुभव थप प्रभावकारी बनेको इभाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक नविन बस्नेतले बताए।
शिक्षा सुधारलाई निरन्तरता
गाउँपालिका अध्यक्ष हेमन्त राईले शिक्षा क्षेत्रलाई गुणस्तरीय, समावेशी र प्रविधिमैत्री बनाउने अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए। उनका अनुसार भौतिक पूर्वाधार विकास, मातृभाषा शिक्षा, सूचना प्रविधिको प्रयोग, शिक्षक क्षमता विकास तथा अतिरिक्त क्रियाकलापलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक बजेट व्यवस्थासमेत गरिएको छ।




