संसद् बैठक। फाइल तस्बिर।
काठमाडौँ- नेपाली सेनाले युवा तथा विद्यालय, कलेजमा अध्ययनरत विद्यार्थीलाई तालिम दिने कानुनी व्यवस्था प्रस्ताव गर्दै राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत भएको छ।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले बिहीबार प्रतिनिधिसभामा विधेयक पेस गर्दै यसको उद्देश्य विद्यालय तहदेखि नै विद्यार्थीमा देशप्रेम, अनुशासन, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्नु रहेको बताइन्।
मन्त्री गौतमका अनुसार नेपालको संविधानको धारा ५१ अन्तर्गत राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवामा तत्पर र सक्षम बनाउने राज्यको नीतिलाई कार्यान्वयन गर्न नयाँ कानुन आवश्यक परेको हो।
उनले हाल लागू रहेको राष्ट्रिय सेवा दल ऐन, २०२७ समयानुकूल नभएको र त्यसमा सामान्य संशोधन गरेर आवश्यक व्यवस्था समेट्न सम्भव नभएकाले नयाँ ऐन ल्याउनुपरेको बताइन्।
प्रस्तावित विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता तथा नैतिक र अनुशासित चरित्र विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई पनि तालिम दिन सकिने र तालिम प्राप्त व्यक्तिलाई आवश्यक पर्दा स्वयंसेवकका रूपमा राष्ट्रसेवामा परिचालन गर्न सकिने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयक अब प्रतिनिधिसभामा दफावार छलफलपछि पारित प्रक्रिया अगाडि बढ्नेछ।




