सुर्खेत- मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउनभर मानसिक स्वास्थ्य सचेतना महिना सञ्चालन गर्ने भएको छ।
मंगलबार सरोकारवाला निकाय तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै कार्यालयले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले यसको रोकथाम र व्यवस्थापनका लागि कर्णालीका १० जिल्लाको ४१ पालिकामा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको हो।
कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा व्यक्ति, परिवार र समाजमा गम्भीर असर पर्ने बताइन्। उनले मानसिक स्वास्थ्य समस्या तथा आत्महत्याका घटनालाई न्यूनीकरण गर्न समयमै सचेतना र सहयोग आवश्यक रहेकोमा जोड दिए।
सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सकारात्मक सोच, आत्मसम्मान तथा जीवनका चुनौतीसँग जुध्ने क्षमता विकास गर्नुपर्ने बताए।
उनले मानसिक स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाइन ११६६ को सेवा उपयोग गर्न आग्रह गरे।
उनका अनुसार साउन महिनाभर स्थानीय तह तथा विद्यालयहरूमा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
यसैबीच जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेङ्गु रोगको जोखिम न्यूनीकरणका लागि घरआँगन सफा राख्न, पानी जम्न नदिन तथा लामखुट्टेको बासस्थान नष्ट गर्न सर्वसाधारणलाई आग्रह गरे।

